महोत्तरी–धनुषाको मिथिला नगरपालिकाकी संगम महतो न्यायका लागि अहिले पनि जिल्ला र पालिकामा धाउँदा–धाउँदै हैरान छन् । पालिका र जिल्लामा उनलाई आश्वासन दिइन्छ, हामी तपाईंलाई न्याय दिन लागिपरेका छौँ । जनप्रतिनिधिले संगमका लागि काम गरेका छन्/छैनन्, उनै जानून् । तर, संगमले आश्वासनकै कारण आसचाहिँ मारेकी छैनन् ।
२५ पुस २०७६ राती झिसमिसेमै नदी उत्खनन रोक्न गएका संगमका दाइ दिलीप महतोलाई क्रसर माफियाले बालुवामा पेलेर हत्या गरे । पर्यावरणलाई जोगाउनुपर्छ भन्ने उद्देश्यले क्रसर माफियाको विरोधमा उत्रिएका महतोको अभियानले अप्ठेरो बन्ने स्थिति सिर्जना भएपछि योजनाअनुसार नै उनीहरूले निर्ममतापूर्वक हत्या गरिएको थियो ।
महतो इन्जिनियर सकेर प्रमाणपत्रको पर्खाइमा थिए । क्रसर माफियाको जथाभावी नदी उत्खननले पर्यावरणमा पर्न सक्ने असरलाई दृष्टिगत गर्दै महतो समुदायलाई जागरुक बनाएर अभियानमै लागेका थिए । त्यसको परिणामस्वरूप अल्पायुमै ज्यान गुमाउनुप र्यो । परिवारमा १३ जना सदस्यमध्य कमाउने उमेर भएका महतो नै थिए । अहिले आर्थिक रूपमा महतोको परिवारलाई ठूलो संकट छ ।
परिवारको सदस्यमा अलि पढेलेखेकी उनी बहिनी संगम हुन् । योजनाअनुसार नै दाइको हत्या भएको उनको दाबी छ । परिवारले किटानी जाहेरी दिएका अभियुक्तमध्ये विपिन महतो साधारण तारेखमा छुटेका छन् ।
दाइको हत्याको मुख्य योजनाकार को थियो भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको संगम बताउँछिन् । शक्तिको आडमा अपराधीले संरक्षण पाएकै कारण न्याय पाउन नसकेको संगमको बुझाइ छ । ‘बारम्बार जिल्लामा जाँदा पैसा पनि हुँदैन । धाउँदा–धाउँदा हैरान बनिसकियो तर न्याय पाउने अत्तोपत्तो छैन’, उनले भनिन् ।
संगमकी ७० वर्षीया हजुरआमाको अहिले पनि आफ्नो नातिलाइ सम्झिँदा आँसु रोकिँदैन । ‘साह्रै मायालु थियो । उसैको आसमा बाँचेका थियौँ । अपराधीलाई कहिल्यै फलिफाप नहोस्’, उनी भन्छिन् । वरपरका छिमेकीहरू पनि दिलीपलाई सम्झिँदा निकै भावुक हुन्छन् । छिमेकको मनमा लाग्छ, पापीहरूलाई किन सजाय भएन !
दिलीपले पर्यावरण जोगाउँदा–जोगाउँदै ज्यान गुमाए पनि सरकारी तवरबाट परिवारलाई सहानुभूति मिल्ने गरी कुनै काम भएको छैन । बरु गैरसरकारी संस्थाहरूले परिवारमा गएर बेला–बेला भेटछन्, सक्दो सहयोग पनि गर्छन् । पालिकाले परिवारलाई राहत मिल्ने गरी कुनै काम गर्न सकेको छैन । कहिलेकाहीँ संगम पालिका प्रमुख हरि मण्डललाई भेट्न जान्छिन् । त्यहाँबाट पनि उनले आश्वासनबाहेक अहिलेसम्म केही पाउन सकेकी छैनन् ।
बरु दिलीप महतो पर्यावरण प्रतिष्ठान स्थापना गरेर पर्यावरण संरक्षणका लागि केही गैरसरकारी संस्थाहरूले महतोको योगदानलाई स्मरणीय बनाउने प्रयास गरेका छन् । कहिलेकाहीँ संगमलाई आफ्नो दाइको हत्या गराउन सरकारी कर्मचारीको पनि हात भएजस्तो लाग्छ । यसको कारणचाहिँ उनलाई सरकारी तवरबाटै बेवास्ता हुने गरेको छ । संगम र उनको परिवारको एउटै माग छ, अपराधीलाई हदैसम्म कारबाही होस् ।
महतो हत्याका मुख्य योजनाकार ३ वर्ष बितिसक्दा पनि पत्ता लाग्न नसक्नु र हत्या गर्नेहरू आँखै अगाडि खुला हिँडदा पनि कुनै कारबाही हुन नसक्नुले यतिबेला महतोको परिवारमा थप पीडा थपिएको छ ।
परिवारले किटानी जाहेरी दिएका कतिपय अहिले थुनामा छन् भने कतिपय साधारण तारेखमा छुटेका छन् । हत्यामा यथेष्ट प्रमाण भए पनि अदालतले समेत न्याय नदिएको संगमको गुनासो छ ।
अहिले पनि धनुषा र महोत्तरीको सिमानामा पर्ने रातु नदीको किनारबाट नदीजन्य वस्तु उत्खनन हुँदै आएको छ । उत्खननकै कारण रातु नदीको तटीय क्षेत्रमा बसोबास गर्ने कतिपय स्थानीय घरबारविहीन बन्नुपरेको अवस्था छ । क्रसर माफिया नदीजन्य वस्तुको उत्खननदेखि पर्यावरण विनाशमा सक्रिय हुँदै आए पनि सरोकारवाला निकाय चुप छन् ।