सप्तरी– बढ्दो आधुनिकतासँगै रेडिमेड सामान प्रयोगका कारण तराईका जिल्लामा बसोबास गर्दै आएका कुम्हार जातिको पुख्र्यौली पेसा संकटमा परेको छ ।
दैनिक जीवनमा प्लास्टिक तथा धातुका सामानको बढ्दो प्रयोगका कारण माटाका भाँडाले बजार नपाएपछि कुम्हार जातिको पेसा संकटमा परेको हो ।
माटाका भाँडाको साटो स्टिल, प्लास्टिक, अल्मुनियम, तामा तथा पित्तलका सामान प्रयोग बढेपछि माटाको भाँडाको माग घट्दै गएको सप्तरीको डाक्नेश्वरी नगरपालिकाका जितन पण्डित (कुम्हार) दुःखेसो सुनाउँछन् ।
एक दशक अघिसम्म आफूहरूले बनाएका सामानको माग राम्रो रहे पनि हाल आएर ह्वात्तै घटेको सम्झिँदै उनी भन्छन् ‘एक दशक अघिसम्म हामीले बनाएका सामानको बिक्री रामै्र हुन्थ्यो तर अहिले हाट बजारमा समेत बिक्न छाडे ।’
माटाका भाँडावर्तन प्रयोगकर्ता घटेपछि कुम्हार जातिका नयाँ पुस्ताका युवा परम्परागत पेसाबाट विमुख हुँदै अन्य पेसा रोज्न बाध्य भएको ५५ वर्षीय जितनले बताए ।
मिहिनेत गरी बनाइएका खाना पकाउने हाँडी, घैटो, कौरना, मटकुडा, गमला, खुत्रुके, दियो, हात्तीघोडासहितका जनावरको मूर्तिसमेत बजारमा बिक्री हुन छाडेको उनको गुनासो छ । उनले भने, “माटाका भाँडावर्तन बनाउन मिहिनेत धेरै लाग्छ तर त्यसअनुसारको दाम पाउन गाह्रो छ । त्यसैले यो पेसाबाट रोजीरोटी चलाउन गाह्रो छ ।’
सप्तरीको बरही वीरपुर गाविस वडा नम्बर ७ कुम्हार बस्तीका ६० वर्षीय मिश्रीलाल पण्डितले यही पेसाबाट गुजारा चलाउँदै आएका छन् । चौठचन्द, तिहार र छठ पर्वका बेला मात्र माटाका सामान बिक्री हुने भएकाले उक्त आम्दानीबाट जीवन धान्न मुस्किल पर्ने गरेको उनले सुनाए ।
‘सन्तानले पुख्र्यौली पेसा छाडे पनि अहिलेसम्म निरन्तरता दिँदै आएको छु । तर, मेरो शेषपछि पेसा नै सम्हाल्ने कोही नहुँदा चिन्ता लाग्छ । परम्परागत पेसा लोप हुने चिन्ता लागिरहन्छ । माटाका कलात्मक परम्परागत भाँडावर्तनलाई प्रयोगमा ल्याउन राज्यले जोडबल गर्नुपर्छ’, उनले भने ।
माटाका भाँडा बनाउने कार्यमा पुस्तौँदेखि संलग्न रहँदै आएका कुम्हारको पेसालाई निरन्तरता दिन व्यवस्थित बजारीकरणका साथै राज्य पक्षबाट प्रोत्साहन दिनुपर्ने माग उनीहरूको छ ।