हुम्ला–गत वर्षको बाढीले भत्काएर घरबारविहीन भएकालाई कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १५० घर हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण भएका १ सय ५० घर मुख्यमन्त्रीले बाढीपीडितलाई हस्तान्तरण गरेको ताँजाकोट गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष प्रसान्त धमलालले बताए ।
गत वर्ष ताजाँकोट गाउँपालिकामा करिब ३ सय ८० घर बाढीले भत्काएको थियो । भत्किएका १५० घर प्रदेश सरकारले बनाइदिएर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । घर हस्तान्तरण गर्न हेलिकोप्टरमार्फत ताजाँकोट आएका मुख्यमन्त्री बाँकी रहेका सबै घर यसै आर्थिक वर्षमा निर्माण गर्ने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री शाहीले ताँजाकोटको विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानीलाई प्रथामिकता दिने, यसै वर्ष सबै गाउँमा सडक पुर्याउन उचित बजेट व्यवस्था गर्ने, महिला सहकारीमा बजेटको व्यवस्था गर्ने र छोरी खातालाई प्राथमिकता दिने घोषणा गरे । प्रतिघर ५ लाख रुपैयाँका दरले निर्माण गर्न दिइएकामा केहीले सम्पन्न गरिसकेका छन् भने कसैको अन्तिम चरणमा पुगेको छ ।
रकम सम्बन्धित व्यक्तिको खातामा आइसकेको र घर निर्माण पूरा नहुन्जेल सबै खाता गाउँपालिकाले रोक्का गरेको वडाध्यक्ष धमललाले जानकारी दिए । पहिलो किस्ता २ लाख ५० हजार रुपैयाँ निकासा गरी घर बनाइरहेकाले निर्माण सम्पन्न गर्नेबित्तिकै सबै रकम भुक्तानी गरिने उनको भनाइ छ । गाउँपालिका अध्यक्ष बागदल मल्लले हस्तान्तरण गरिएका घर पाएपछि बाढी प्रभावितलाई स्थायी बासका लागि सहज हुने विश्वास व्यक्त गरे । कर्णाली प्रदेश सरकारले १ सय ५० घर निर्माण गर्न ७ करोड ५० लाख बराबर खर्चिइने कार्यक्रममा जानकारी दिइएको थियो ।