सप्तरी–विजया दशमीको पहिलो दिन घटस्थापना अवसरमा सप्तरीसहित देशभरिकै विभिन्न शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लागेको छ । मुलुकमै प्रसिद्ध सप्तरीको छिन्नमस्तास्थित सखडेश्वरी भगवती मन्दिरमा बिहानैदेखि सयौँ श्रद्धालु भक्तजन पूजाआजा गर्न आएको मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए ।
दुई वर्षयता कोरोना महामारीका कारण भएको बन्दाबन्दीले भक्तजनको संख्यामा कमी आए पनि यो वर्ष अवस्था सामान्य भएको र सीमावर्ती नाकाबाट सवारी साधन सञ्चालनमा आएपछि भक्तजनको भीड बढ्न थालेको पीठाधीशको कथन छ ।
सोही अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ रम्पुरा मल्हनियास्थित कुनोली सीमामा बडा दसैँ अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुने गरेको छ ।
घटस्थापनाका दिन हजारौँको सहभागितामा बृहत् कलश यात्रा निकालिएको स्थानीय सूर्यनारायण यादवले जानकारी दिए । वडाध्यक्ष सत्यनारायण यादवको नेतृत्वमा हजारौँको सहभागितामा कलश यात्रा निकालिएको हो ।
कलश यात्रा रम्पुरा, मल्हनिया, डलवा हुँदै कोसीमा जल लिएर भगवती मन्दिरमा आइपुगेको हो । प्रत्येक वर्ष झैँ यो वर्ष पनि सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ वरही वीरपुरको डिहवारथान पोखरी तथा नवदुर्गा भगवती मन्दिरमा हजारौँको सहभागितामा कलश यात्रा निकालिएको आयोजक समितिका सन्तोषकुमार यादवले बताए ।
वडाध्यक्ष विनोदकुमार यादवलगायतकोे अगुवाइमा हजारौँको सहभागितामा निकालिएको सो कलश यात्रा वरही वीरपुरको परिक्रमापछि कोसी पश्चिम नहरमा जल विसर्जन गरी पुनः मन्दिर पुगेको थियो ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ स्थित लोखरम वीरपुर चोकमा समेत बडा दसैँ अवसरमा विभिन्न धार्मिक कार्यक्रम राखिएको वडाध्यक्ष शिवशंकर पण्डितले जानकारी दिए । सप्तरी सदरमुकाम राजविराजस्थित राजदेवी मन्दिर, भगवती मन्दिरलगायत जिलाभरका विभिन्न मठमन्दिरमा दसैँ अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।