बागलुङ–बागलुङ नगरपालिका वडा नम्बर १३ को बाँस्बोटका नारायण रिजाललाई दसैँमा घर जाने चिन्ताले सताउन थालेको छ । आफ्नै साधन छ तर ७ किमिमा पुगिने गाउँका लागि वडा नम्बर १४ को कैया पुल तरेर घुम्दै आउँदा ३० किमि फन्को मार्नुपर्छ ।
अप्ठेरो सडकमा यात्रा गर्न सास्ती हुन्छ । यसअघि उनले मालढुंगादेखि गलुवासम्मको केही कच्चीबाहेक सबै पक्की सडकमा यात्रा गर्न पाएका थिए । गत असारमा खसेको पहिरोले मालढुंगा–कुश्मीसेरा सडक, कालीगण्डकी करिडोर गरी ३ वटा सडक बगाएको छ । बैकल्पिक सडकको रूपमा निकास दिन खोलिएको स्थानमा पनि हिलाम्मे छ ।
जतिबेला पनि पुरिने जोखिम छ । पानी पर्नासाथ उक्त सडक अवरुद्ध हुन्छ । ठाउँ–ठाउँमा ढुंगा खसेर जोखिम छ । उक्त सडक प्रयोग गर्दा पनि बलेवा एयरपोर्टबाट मात्रै घुम्न मिल्छ । अमलाचौरका विष्णुप्रसाद चापागाईंको समस्या पनि उही हो । ‘घरमा बिरामी आमा हुनुहुन्छ तर आफ्नै साधनमा गएर भेट्न पनि पाइएको छैन,’ चापागाईंले भने, ‘चाडपर्वमा पनि नबनेको सडक कहिले बन्ला ?’
उपचारका लागि कुश्मातर्फ झोलुंगे पुल तरेर लैजानुपरेको उनले गुनासो गरे । गलुवामा खसेको पहिरोले दक्षिण बागलुङका सयौँ मानिसको खुसी लुटेको छ । आफ्ना सवारीसाधन थन्क्याएर पैदल यात्रा गर्न बाध्य छन् । ‘पहिरोले सुरु–सुरुमा सामान्य क्षति गरेको थियो । त्यतिबेलै पानी तर्काएर सडक मर्मत गरेको भए यो अवस्था आउने थिएन,’ वडा नम्बर १० का किरण मल्लले भने, ‘महिनौँ समस्या पर्दा पनि सरकारले हेरेन ।’ कुखुरापालन गरेका उनले मालढुंगाबाट दैनिक दाना पिठ्युँमै बोकेर लैजानुपरेको बाध्यता सुनाए ।
दैनिक उपभोग्य वस्तु खरिद गर्नेदेखि चाडपर्व लक्षित कामका लागि यात्रा गर्नुपर्नेले भोगेको यो सास्तीप्रति सडक डिभिजन कार्यालय भने चिन्तित छैन । बरु कार्यालयले वास्ता नगरेपछि बागलुङ नगरपालिकाले पहिरो पन्छाउने प्रयास थालेको थियो । २० लाख रुपैयाँ लगानी गरेर थालेको काम एक सातासम्म निरन्तर चलेको थियो ।
तर, पहिरोबाटै सडक खुलाउने प्रयास तथा ग्याबिन जाली बुन्ने क्रममा आइतबार पुनः परेको वर्षाले सडक बगाएको छ । पहिरोले ग्याबिन जाली पुरेको छ भने खुलाउनै लागिएको ट्रयाक पनि भत्किएको छ । ‘पहिला भकुन्डेको दहदेखि खसेको पानीको निकास दिएपछि मात्रै सडकको ट्रयाक खोल्नुपर्नेमा सोझै काम गरिएपछि बगेको हो,’ बागलुङ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले भने, ‘प्राविधिकले जानेको कुरा हामीले कसरी बुझौँ । तर, काममा त्रुटि भएकै हो ।’
सडक नखुल्दा बागलुङ नगरपालिका वडा नम्बर १०, ११, १२, १३ र १४ का हजारौँ नागरिकले सास्ती खेपेका छन् । नियमित सामान ढुवानीसमेत रोकिँदा जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा पनि समस्या बढ्न थालेको उपभोक्ताले गुनासो गरे । ‘दैनिक खाद्यान्न, निर्माण सामग्रीसहितका धेरै वस्तु ढुवानी हुन्थ्यो, अहिले ठप्पै छ,’ जैमिनी नगरपालिका वडा नम्बर ९ का नवीन जिसीले भने, ‘यति धेरै सास्ती यसअघि कहिल्यै भएको थिएन ।’
२०५४ मा ट्रयाक खुलेपछि हिलो, खाल्डा र धेरै समय लागेर पुगेको समस्या भोगेपछि ठप्पै बस्नु नपरेकामा कालोपत्रे भएपछि यस्तो समस्या आएको उनले गुनासो गरे । गत चैत, वैशाखमा यो सडक कालोपत्रे गरिएको थियो । अब यो सडकको टुनीबोटदेखि सरंगेसम्मको केही भाग मात्रै कालोपत्रे गर्न बाँकी छ । तर, तीन महिनादेखि यो सडक उपयोगविहीन भएको छ । कालीगण्डकी करिडोरसमेत ठप्प भएपछि गुल्मीतर्फ लाग्नेले पनि उत्तिकै समस्या भोगेका छन् ।
करिडोरबाट सोझै पाल्पा पुग्न सकिने यात्रा गर्न चाहनेले पनि सुरुमै सास्ती खेप्ने गरेका हुन् । गत आइतबार गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्यको गाडीसमेत यो पहिरोमा अलपत्र प¥यो । अनुगमनका लािग मन्त्रालयका सचिव, महाशाखा प्रमुख र जिल्लास्थित डिभिजन कार्यालयका प्रमुखसमेत कुश्मीसेरा पुगेर फर्कंदा बाटैमा पहिरोले यात्रा रोकेको हो ।
मन्त्रीले पनि गाडी बाटैमा छाडेर कुश्मातर्फ जानुपरेको थियो । ‘बिरामी बोकेका गाडीले कस्तो दुःख पाएका छन् भन्ने कुरा मन्त्रीले थाहा पाएको भए राम्रो हुन्थ्यो,’ बलेवाका केशव ढकालले भने, ‘एक–दुई दिन हैन, बर्सेनि पाएको सास्तीबारे कसले बोलिदिने ?’