भोजपुर– नेपाली सेनाको फस्ट राइफल गणले ‘गो ग्रिन’ कार्यक्रमअन्तर्गत एक व्यक्ति एक बिरुवा रोपण अभियान सञ्चालन गरेको छ । वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले स्थानीयको सहयोगमा सेनाले विभिन्न सामुदायिक वनमा बिरुवा रोप्न थालिएको हो । हतुवागढी गाउँपालिकाको सतभैया र भोजपुर नगरपालिका वडा नम्बर १२ पारपानीमा रहेको इनामे सामुदायिक वनमा धुपी सल्ला, तेजपत्ता, पैयुँ, लालीगुँरास, मसलालगायत २ हजार बढी बिरुवा रोपिएको छ ।
अभियानअन्तर्गत जिल्लाभर १२ हजार बिरुवा रोप्ने योजना रहेको गणपति विश्वनाथ तिमल्सिनाले जानकारी दिए । उनले भने, ‘वातावरण संरक्षण गर्न यो अभियानअन्तर्गत जिल्लाभर १२ हजारभन्दा बढी बिरुवा रोप्ने लक्ष्य लिएका छौँ । यसले यहाँको वातावरण संरक्षणमा केही टेवा पुग्ने आशा गरेका छौँ ।’
सेनाले थालेको अभियान सराहनीय रहेको र वने संरक्षण तथा विकासमा स्थानीय सरकारले सहयोग गर्ने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।
उनले भने, ‘सेनाले थालेको यो अभियान स्वागतयोग्य छ । नांगा पाखालाई हरियाली बनाउन यस्तो अभियान सञ्चालन गर्न आवश्यक छ । सेनाले थालेको अभियानलाई हामी पनि साथ र सहयोग दिएर अगाडि बढ्छौँ ।’ रोपिएका बिरुवालाई नेपाली सेना तथा स्थानीय तहले संरक्षण गर्ने बताएका छन् । अन्य स्थानमा पनि वृक्षरोपण गर्ने कार्यतालिका रहेको सेनाले जनाएको छ ।
वृक्षारोपणका लागि डिभिजन वन कार्यालयले सेनालाई बिरुवा उलब्ध गराउँदै आएको प्रमुख विष्णुलाल घिमिरले जानकारी दिए । उनले भने, ‘हामीले नांगा डाँडालाई हरियाली बनाउने उद्देश्यले विभिन्न गतिविधि बढाइरहेका छौँ । सेनाले पनि अभियानै सञ्चालन गरेर वृक्षरोपनका काम गरिरहेको छ । यसले वन कार्यालयको अभियानमा साथ मिलेको छ । पछिल्लो समय जिल्लामा वृक्षरोपण गतिविधि बढेको छ । विशेषगरी स्थानीयले फलफूल तथा जडीबुटीका बिरुवा रोप्न चासो देखाएका छन् ।’
वरपीपल संरक्षण
वन कार्यालयले वरपीपल रोप्ने अभियान सञ्चालनमा ल्याएको छ । सडक विस्तार तथा मानवीय गतिविधिका कारण सयौँ वर्ष अगाडि रोपिएका वरपीपल मासिन थालेकाले कार्यालयले यस्तो अभियान सञ्चालनमा ल्याएको हो ।
वरपीपलबाट प्रशस्त मात्रामा अक्सिजन प्राप्त हुने तथा वातावरण हराभरा राख्न टेवा पु¥याउने भएकाले सार्वजनिक तथा खुला क्षेत्रमा रोप्नका लागि अभियान सञ्चालन गरिएको हो । धेरै मात्रामा वरपीपल विस्तार गर्न सके बस्तीमा बाँदर आउने क्रमसमेत रोकिनेछ ।
वरपीपलका फल खाएर बाँदर अल्मलिने हुँदा त्यसबाट किसानको अन्नबालीमा कम क्षति हुने कार्यालय प्रमुख घिमिरेले बताए । उनले भने, ‘पछिल्लो समय धेरै वर्ष पुराना वरपीपलका रुख मासिँदै गएका छन् । अधिकांश ठाउँमा तिनका ठुटा मात्र देखिन्छन् । यसले वातावरणलाई प्रत्यक्ष रूपमा हानि पुगिरहेको छ । त्यसैले हामीले अहिले झापाबाट बिरुवा मगाएर अभियानका रूपमा काम गर्दै आएका छौँ ।’
त्यस्तै, बाँदरले बस्तीमा आएर क्षति गर्न थालेपछि सामुदायिक वनमा इस्कुस रोप्न आग्रह गरिएको उनले बताए । बाँदरका लागि खाने आहारा वन क्षेत्रमै उत्पादन गर्न सके गाउँबस्तीमा कम क्षति गर्ने अनुमान गरिएको छ ।
प्रमुख घिमिरेले भने, ‘हाम्रा कारणले नै बाँदरलाई बस्तीमा आउने अवस्था बनाएका छौँ । वन्यजन्तुलाई हाम्रा व्यवहारले पनि असर पारिरहेको छ । उनीहरूलाई खान आवश्यक पर्ने वस्तु फेला नपरेपछि बस्तीमा आउनु स्वाभाविक हो । त्यसैले वन क्षेत्रमा पनि फलफूलका बिरुवा विस्तार गर्न जरुरी देखिएको छ । त्यसैले हामीले खुला क्षेत्रमा वरपीपल रोप्ने अभियान सञ्चालनमा गरेका हौँ ।’
कृषक उत्सुक
पछिल्लो समय स्थानीय जडीबुटीका बिरुवा रोप्न उत्सुक भएका छन् । वन कार्यालय तथा सामुदायिक वनका पदाधिकारीले यस्ता बोटबिरुवाको महत्त्वबारे जानकारी दिनुका साथै कृषकलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएकाले उनीहरूमा बिरुवा रोपणमा मोह बढेको हो ।
विभिन्न कृषक लक्षित कार्यक्रमले यहाँ जडीबुटीमा लाग्ने कृषकको संख्या बढेको छ । कार्यालयले विभिन्न कार्यक्रममार्फत आर्थिक तथा प्राविधिक सहयोग गरेकाले कृषकले जडीबुटी खेतीलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याएका हुन् ।
यस वर्ष मात्रै टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ तिम्मा, आमचोक गाउँपालिकालगायत ठाउँमा जडीबुटी विस्तार कार्यक्रम सञ्चालन गरिएको थियो ।कृषकलाई आयआर्जनमा जोड्न, टिमुर, लालीगुँरास, तेजपत्ता, लोठ सल्ला, पयँुलगायत बिरुवा विस्तारमा प्रोत्साहन गर्नुका साथै जिल्लाका छवटा नर्सरीबाट १ लाख ६४ हजार बिरुवा उत्पादन गरिएको कार्यालयले बताएको छ ।
करिब पाँच हजार कागती, एभोकाडोलगायत बिरुवा कृषकलाई वितरण गरिएको कार्यालयले जनाएको छ । बर्सेनि बिरुवा वितरण गरिए पनि त्यसको उपलब्धि आउन नसकेको गुनासो गर्दै सरोकारवालाले कृषकले उत्पादन गरेका जडीबुटीको बजारीकरणका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सतुवा, चिराइतो, टिमुरलगायत विभिन्न जडीबुटीको पकेट क्षेत्र निर्धारण गरेर काम भइरहेको र कृषकलाई थप प्रोत्साहन गर्न लाहाखेती विस्तारका लागिसमेत काम भइरहेको कार्यालयले बताएको छ । त्यस्तै, जडीबुटी खेती विस्तार तथा वन क्षेत्रको विकासका लागि पञ्चवर्षीय योजना तयार भइरहेकाले त्यसमा छुटेका विषयवस्तुबारे राय सुझाव संकलन लिइएको बताइएको छ ।