धनुषा– पशुबलीमा रोक लगाउन माग गर्दै जनकपुरमा पूर्णब्रह्मा कविर उपासक समाज धनुषाले र्याली निकालेको छ । र्यालीमा सन्त रामपालजी महाराजका अनुयायीले ‘पशुबलि एवं जीवहत्या अन्त्य गरौँ, बलिप्रथा बन्द गरौँ, स्वच्छ समाज निर्माण गरौँलगायत नारा अंकित प्लेकार्ड तथा ब्यानर बोकेका थिए ।
जनकपुरस्थित पगलाबाबा धर्मशालाबाट निस्किएको र्याली रामानन्दचोक, जानकी मन्दिर, राम मन्दिर र मुरली चोक हुँदै पुनः पगलाबाबा धर्मशालामा आएर टुंगिएको थियो ।
बलिप्रथा रोक्ने मागसँगै सामाजिक जागरणका निम्ति दबाबस्वरूप र्याली निकालिएको समाजका संयोजक शिवकुमार महतोले बताए । उनले पशुप्रति भइरहेको अमानवीय व्यवहार तथा बलिजस्तो अन्धविश्वासलाई जरैबाट निर्मूल गर्ने उद्देश्यले शान्तिपूर्ण र्याली आयोजना गरिएको जानकारी दिए ।
र्याली समापनपछि समाजका पदाधिकारीले धार्मिक पर्वको नाममा हुने जीव हिंसा तथा बलिप्रथामा रोक लगाउन पहल गरिदिन धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाए ।