काठमाडौं– सरकारले वृद्धावस्थाका बूढाबूढी, विधवा महिला, पछाडि पारिएका समुदायलाई लक्षित गरी सामाजिक भत्ता वितरण गर्दै आएको छ । श्रीमान्–श्रीमती एउटै रथका दुई पांग्रा भन्ने उक्ति अहिले पनि सान्दर्भिक छ, नेपाली समाजमा ।
सामाजिक भत्ता पाउने उमेर नहुँदै श्रीमानको मृत्यु भए महिलाले विधवा भत्ता पाउँछन् । तर, श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बाँच्नुपर्ने अवस्थाका पुरुषलाई त्यो भत्ताबाट वञ्चित गरिँदै आएको छ ।
समाजमा श्रीमतीको निधनपछि एकल पुरुषसमेत पीडित हुने अवस्थालाई हटाउन केही स्थानीय तहले तिनलाई संरक्षण दिन सामाजिक भत्ताको व्यवस्था गरेका छन् । यही अवस्थालाई मनन गरेर कतिपय स्थानीय तहले एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ता दिन थालेका छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार एकल पुरुषको जीविकोपार्जन सहज गराउने उद्देश्यसहित केही स्थानीय तहले आफ्नो नीति, कार्यक्रम र बजेटमै समावेश गरी एकल पुरुषलाई भत्ता दिन थालेका छन् ।
यद्यपि उक्त भत्ता दिने स्थानीय तह संख्यात्मक हिसाबमा कमै छन् । स्थानीय तहले कार्यविधि निर्माण गरी मासिक ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म एकल पुरुषलाई भत्ता दिँदै आएका छन् ।
समाजमा लैंगिक समानता र सामाजिक न्याय स्थापना गर्न एकल पुरुषलाई मासिक भत्ता दिन थालिएको पालिकाहरूले जनाएका छन् । हाल एकल पुरुषलाई भत्ता दिने पालिकामा बागमती गाउँपालिका, ललितपुर, फुङलिङ नगरपालिका, ताप्लेजुङ, बौदीकाली गाउँपालिका, नवलपुर, हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक रहेका छन् ।
यस्तै, अपिहिमाल गाउँपालिका, दार्चुला, छथर जोरपाटी गाउँपालिका, धनकुटा, गण्डकी गाउँपालिका, गोरखा, छायानाथ रारा नगरपालिका मुगु, थलारा गाउँपालिका, बझाङ, डुंगेश्वर गाउँपालिका, दैलेख, झापा गाउँपालिका झापा रहेका छन् ।
यीमध्ये बागमतीले चार वर्षदेखि भत्ता दिँदै आएको छ भने भत्ता पनि बढाइएको छ । फुङलिङले पनि ३ वर्षदेखि ६० वर्ष पूरा भएकालाई भत्ता दिँदै आएको छ ।
बौदीकालीले पनि ६० वर्ष उमेर पूरा भएकालाई मासिक २ हजार रुपैयाँ भत्ता चालू आर्थिक वर्षदेखि दिन सुरु गरेको छ । हेलम्बुले सबै उमेर समूहका एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता दिँदै आएको छ । अपिहिमालले मासिक ५ सय रुपैयाँका दरले एकल पुरुष भत्ता प्रदान गर्दै आएको छ ।
यस्तै, छथर जोरपाटीले वार्षिक एकमुष्ट ५ हजार, छायानाथ रारा नगरपालिकाले पनि एकल पुरुषलाई सामाजिक भत्ता वितरण गर्न थालेको छ । यस्तै, थलारा गाउँपालिकाले पनि एकल पुरुषलाई मासिक ५ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । यसैगरी डुंगेश्वर गाउँपालिकाले ५ सय, झापा गाउँपालिकाले मासिक ५ सय रुपैयाँका दरले भत्ता दिँदै आएको छ ।
एकल पुरुषलाई प्रदान गरिने भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएपछि एउटा पालिकाले सुरु गरेको कार्यक्रम अन्य पालिकाले पनि अनुसरण गर्न थालेको गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेल बताउँछन् ।
संघीय सरकारले भने ७० वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिक, ६० वर्ष पूरा भएका दलित र ६० वर्ष पूरा भएका कर्णाली क्षेत्रका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।
त्यस्तै, ५ वर्ष उमेर पूरा नभएका कर्णाली क्षेत्रका बालबालिका र दलित बालबालिका, विधवा महिला र अपांगता भएका व्यक्तिलाई मासिक रूपमा भत्ता दिइँदै आएको छ । संघीय सरकारबाट अन्य प्रकारका भत्ता लिँदै आएका एकल पुरुषलाई गाउँपालिकाले प्रदान गर्ने एकल पुरुष भत्ता कार्यक्रममा भने समावेश गरिएको छैन ।