धनकुटा– धनकुटाको सहिदभूमि गाउँपालिका वडा नम्बर १ का वडा सचिव सुमित रामले हातमा १२ हजार रुपैयाँ थमाइदिँदा सफाइटारका ९२ वर्षीय कनकबहादुर दाहाल खुसीले दंग भए । उनको अनुहारमा दोहोरो खुसीको चमक देखिन्थ्यो– यस पटक बेलैमा र दसैँको मुखमै पैसा थाप्दा ।
सोही वडाको गोपालपुरकी ८७ वर्षीया इन्द्रकमली राईको अनुहारमा पनि पैसा थाप्दा उज्यालो थियो । दसैँको मुखमा घरैमा पैसा थाप्दा खुसी लागेको ९२ वर्षका बुद्धिकर्ण थुलुङले बताए ।
वडा समिति र वडा सचिवको टोलीले अशक्त ज्येष्ठ नागरिकको घर–घर तथा हिँड्न सक्ने ज्येष्ठ नागरिकलाई टोल–टोलमा पुगेर सामाजिक सुरक्षाबापतको भत्ता वितरण गरिरहेको छ । भत्ता वितरण गर्दा ज्येष्ठ नागरिकको अनुहारमा खुसी देखेको वडा सचिव सुमित रामले बताए । सहिदभूमि गाउँपालिका वडा नम्बर १ भौगोलिक क्षेत्रको हिसाबले दुर्गम छ । यस वडामा ७० वर्षमाथिका १७२ जना ज्येष्ठ नागरिक छन् ।
सबै ज्येष्ठ नागरिकलाई बैंक त परै जाओस्, वडासम्म पनि भत्ता बुझ्न आउन कठिन छ । सोही कारण वडाले टोल–टोलमा पुगेरै भत्ता वितरण गरिरहेको छ ।
भत्ता वितरणका लागि वडाका गोपालपुर, सफाइटार, घगंरु, जगदेउ, पोखरे, अखुवाटार, सिम्ले, पाङनाम, धाप, सेतीचोकलगायत टोल पुगिरहेको उनले बताए ।
९० वर्षीय मोहनसिंह राई सोही वडाका वासिन्दा भए पनि भोजपुर हतुवागढीस्थित छोरीको घरमा बस्दै आएका छन् । उनलाई भत्ता पुर्याउन वडा सचिव राम छोरीको घरमा पुग्ने गर्छन् ।
अखुवाटारस्थित अरुण नदीमाथिको झोलुंगे तरेर पारि ज्येष्ठ नागरिक राईलाई भत्ता पुर्याउने गरेको उनले सुनाए । बढ्दो उमेरसँगै उनी शारीरिक रूपमा अशक्त छन् ।
‘मैले भत्ता नपुर्याउँदासम्म आस गरिरहन्छन् । त्यसैले घरमै भत्ता वितरण गरिरहेको छु । बर्खा नभएका बेला बाटो हिलाम्य हुँदैन । त्यहाँ पुग्न सहजै हुन्छ तर हिलाम्य हुँदा गाह्रो’, रामले भने ।
भौगोलिक रूपमा दुर्गम ठाउँका ज्येष्ठ नागरिकलाई बैंकसम्म पुगेर भत्ता बुझन् कठिन हुने उनको अनुभव छ । उनी भन्छन्, ‘बैंकमार्फत भुक्तानी हुँदा आर्थिक पारदर्शिता हुन्छ तर व्यावहारिक रूपमा कठिन छ ।’