दाङ– २७ भदौमा पर्ने धार्मिक एवं सास्कृतिक महत्त्वको थारु समुदायको अटवारी पर्वमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । दाङका स्थानीय तहले थारु समुदायको पर्व अटवारी अवसरमा सार्वजनिक बिदा दिएका हुन् । परम्परागत रूपमा मनाइँदै आएको पर्व आइतबारका दिन मनाइने भएकाले अटवारी भन्ने गरिएको हो ।
‘यो थारु जातिको माघीपछिको ठूलो पर्व हो’, थारु कल्याणकारी सभा दाङका अध्यक्ष भुवन चौधरी भने । आइतबार दिनभरि व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्छन् । व्रतालुले फलफूललगायत परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने चलन छ ।
दाङका घोराही, तुलसीपुर उपमहानगरपालिका, राप्ती गाउँपालिका, दंगीशरण, गढवा गाउँपालिकाका प्रमुखले शुक्रबार सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिएको सूचना निकालेर जानकारी गराएका छन् । अटवारी पर्व पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङका थारु समुदायले धुमधामका साथ मनाउने गर्छन् ।