काठमाडौँ– चार दिनदेखि फोहोर उठाउन थालिए पनि काठमाडौँका मुख्य मुख्य चोकमा अझै पनि फोहोर थुप्रिएको छ ।
करिब एक महनिादेखि व्यवस्थापन हुन नसकेको फोहोर गत बुधबारदेखि उठाउन थाले पनि कलंकी, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहोरको डङ्गुर अझै उस्तै नै छ ।
नियमित परेको पानी र हाल फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन ।
लामो समयदेखि फोहोर संकलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौँ महानगरपालिकाको भनाइ छ । आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहोर सिसडोल लगिने कामपा वातावरण विभगका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
अहिले साविकअनुसार नै फोहोर व्यवस्थापनको काम भइरहको छ । ‘धेरै दिनको संकलित फोहोर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहर उठिरहेको छ’, प्रमुख श्रेष्ठले भने । काठमाडौंमा करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको बताइएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ ।