दार्चुला– निरन्तरको वर्षाका कारण पहिरो गएपछि दार्चुलाका विभिन्न ठाउँमा जनधनको क्षति गरेको छ । सोमबार राती पहिरो खस्दा दुँहु गाउँपालिका वडा नम्बर १ बास्पालीमा दुई जनाको मृत्यु भएको छ ।
घरमाथिबाट खसेको पहिरोमा पुरिएर बास्पालीका ६५ वर्षीय नरसिंह महर र उनकी ६० वर्षीया श्रीमती कौशिला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा माटोमुनिबाट उनीहरूको शव निकालिएको हो ।
यस्तै, वडा नम्बर ५ सुत्खोलामा पनि पहिरोले घर पुर्दा ५० वर्षीय मनुवा डडालको ज्यान गएको छ । अझै दुई जना बाढीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुँहु गाउँपालिका वडा नम्बर ३ का शेरसिंह कार्की र हरकसिंह कार्की रहेका छन् ।
बाढीपहिरोले दुहुँ गाउँपालिकाका आधा दर्जन घर बगाएको छ । बाढीले २ लघु जलविद्युत् आयोजना, २ झोलुंगे पुल, १ आरसीसी पुल बगाएको छ ।
यस्तै, सोमरबार राती निजाङ खोलामा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर १ श्रीबगरस्थित टिंकर सडकको पक्की मोटरेबल पुल, अपिनाम्पा संरक्षण क्षेत्रको रेन्जपोस्टसमेत बगाएको छ ।
पहिरोमा परी गम्भीर घाइते भएका दुहुँ गाउँपालिका वडा नम्बर ५ का जनकराम पार्की र उजली देवी डडालको हेलिकोप्टरद्वारा उद्दार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रहमा गृह मन्त्रालयले नेपाली सेनासँग समन्वय गरी उनीहरूको उद्दारका लागि हेलिकोप्टर व्यवस्था गरी थप उपचार गर्न धनगढी लगिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।