बाजुरा– सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्लामा काठको काम गरेर जीविकोपार्जन गर्नेहरूको पेसा पछिल्लो समय संकटमा परेको छ । बाजुरामा आलो काठबाट बनेका विभिन्न सामग्री पछिल्लो समय लोप हुँदै गएका छन् ।
काठको काम गरेर जीविकोपार्जन गर्ने स्थानीयले पछिल्लो समय त्यसबाट सामग्री बनाउन नपाउँदा समस्या भएको हो । सामुदायिक वनले आलो काठ काट्न नदिँदा व्यवसायी थप समस्यामा परेका छन् ।
आलो काठबाट ठेकी, पीठो मुछ्ने कोसी, कचौरा बनाएर गुजारा चलाउने चदारा जातिको सामुदायिक वनले काठ काटे कारबाही गर्ने बताएसँगै पेसा संकटमा परेको हो ।
स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ ठूलापाटाका दल चदाराले भने, ‘काठको काम नगरी घरमा चुल्हो बल्दैन । जंगलमा काठ काट्न गयो उपभोक्ता समितिले कारबाही गर्छ । हामीलाई काम गर्न कठिन भएको छ । असजिलो भएपछि धेरैले यो पेसा छाडिसकेका छन्’, उनले भने ।
काठका कोसी, मुसल, ठेकी फुरु, गिला र कचौरा बनाएर गाउँमा त्यसमा भरेर खाद्यान्न साटेर आफ्नो दैनिकी चलाउने गरे पनि काठ नपाउँदा समस्या भएको उनको गुनासो छ । उनले भने, ‘अहिले यो पेसाले घरधन्दा नचल्ले भएपछि भारत गएर चौकीदारी गर्नुको विकल्प छैन ।’
हरेक गाउँमा सामुदायिक वनले आवश्यक काठ काट्न नदिने, काटेका थाहा पाए दण्ड जरिमाना गर्ने र सामग्री लुटिदिने हुँदा समस्या भएको छ । पछिल्लो पुस्ताले यो पेसालाई ग्रहण गर्न सकेको नसकेको चदाराले सुनाए ।
परम्परागत रूपमा चदारा जातिले यसैबाट दैनिक गुजारा चलाउँदै आएका थिए । तर, पछिल्लो समय बजारमा स्टिलका समान छ्यापछ्याप्ने पाइन थालेपछि आफूहरूको पेसा संकटमा परेको उनीहरूको गुनासो छ ।
परम्परागत पेसालाई आधुनिकीकरण गर्न नसक्नु र कतैबाट सहयोग नपाएका कारण चदारा जातिको काठका समान बनाउने पेसा लोप हुन लागेको हो । वर्षभरि खलोको भरमा काठका सामग्री उत्पादन गरेर दिने र त्यसमा भरेर ल्याएको अन्नले परिवार पाल्ने गर्छन् ।
भाडीमा ठेकी किन्न आएका अरवीन्द्र सिंहले भने, ‘गाउँमा काठको सामान नपाएर मात्र स्टिलका भाँडा प्रयोग गर्नुपर्ने बाध्यता छ । गाईभैँसीको दूध काठको भाँडामा जति मीठो हुन्छ, स्टिलको भाँडामा हुँदैन । गाउँमा भाँडी (काठको सामान कोर्ने मेसिन) चलाउने कमै छन् । पहिलेजस्तो जहाँतहीँ पाइँदैन ।’
बूढापाकाहरूले बजारबाट ल्याएको ठेकीको दही मीठो हुँदैन भनेर नखाने गरेको उनले बताए ।
परम्परागत सीपलाई आधुनिकतातर्फ बदल्न स्थानीय सरकार र संघ–संस्थाले सहयोग गर्ने हो भने यहाँका चदारा जातिको दैनिकी सहज र आयआर्जनमा जोडिने थियो । तर, समुदायमा यो जातिको पहुँच नहुनु र सामुदायिक वनका समितिमा उपल्ला जात मात्र रहने हुँदा यिनको पेसा संकटमा परेको छ ।