भक्तपुर– भक्तपुरकी कल्पना लामिछानेलाई मेलमिलापबारे सामान्य जानकारी छ । तर, मेलमिलाप कसरी गर्ने थाहा
थिएन । गाउँकै एउटा विद्यालयमा शिक्षिका रहेकी उनी आफ्ना कक्षाका बालबालिकालाई झगडा र मनमुटावबारे जानकारी भने दिन्छिन् ।
उनी भन्छिन्, ‘कक्षामा पढाए पनि मेलमिलापबारे धेरै जानकारी थिएन । अब छर्लंग भएँ ।’ उनीसँगै रक्षा खनाल पनि मेलमिलापबारे विस्तृत जानकारी लिन पाएकोमा दंग छिन् ।
कानुनमा स्नातक उनी पनि चाँगुनारायण नगरपालिकाले आयोजना गरेको मेलमिलापसम्बन्धी आधारभूत तालिममा सहभागी भएकी थिइन् । कलेजमा पढेभन्दा तालिममा विस्तृत जानकारी लिन पाएको उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘अब वकालत मात्रै होइन, फाटेको मन सिलाउन पनि जानेकी छु । मेलमिलापकर्ता बन्न सक्षम भएकी छु । अब आफ्नै गाउँमा बसेर काम गर्छुु ।’
उनीहरूसँगै पालिकाका ३० युवाले मेलमिलापसम्बन्धी तालिम लिएका छन् । तालिमको सहजीकरण प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले गरेको थियो ।
पालिकाले तालिम वडा नम्बर–७ स्थित तपा दम्फो हलमा गरेको थियो । एक साताको प्रशिक्षणमा मेलमिलाप गर्ने तरिका, आउने समस्या र समाधानबारे सिकाइएको पालिकाले जनाएको छ ।
पालिकाले सिकाएको मेलमिलापको केही सीप उपयोग गरी आउने विवाद सुल्झाउन सहभागीसँग नगरप्रमुख सोमप्रसाद मिश्रले अनुरोध गरे ।
नगर उपप्रमुख विना बास्तोलाले मेलमिलापसम्बन्धी प्रशिक्षण पालिकाले पहिले नै गर्न खोजेको तर कोरोना महामारीका कारण स्थगित भएको बताइन् ।
‘अब हामीले मेलमिलापकर्ता तयार पारेका छौँ । वडावडामा मेलमिलाप केन्द्र खोल्ने छौँ र सहभागीमध्ये प्रत्येक वडामा तीन जना मेलमिलापकर्ता खटाउने छौँ,’ उनले भनिन्, ‘अब पालिकामा आउने मुद्दा पहिले मेलमिलापकर्ताले हेर्ने हुनेछ । उहाँहरूले नसकेपछि मात्र हामी हेर्छौँ । उहाँहरूलाई अझ सक्षम बनाउने छौँ ।’
केन्द्रका अध्यक्ष चुपबहादुर थापाले द्वन्द्व सामान्य कुराबाट सुरु हुने भए पनि ठूलो रूप लिने भएकाले विवादको अन्त्य गर्नुपर्ने बताए । यसका लागि स्थानीय तहमा मेलमिलापकर्ता चाहिने उनले बताए ।
मेलमिलापकर्ता पालिकाको न्यायिक समितिको काममा सहयोगी हुने भएकाले नगरपालिकासँग यससम्बन्धी कानुन ल्याउन आग्रह गरिएको छ ।