मुगु– कर्णाली प्रदेशमा जबरजस्ती करणी अर्थात् बलात्कारका घटना बढेका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा आव २०७६\७७ भन्दा यस आवमा बलात्कारका उजुरी बढेका छन् ।
आव २०७६\७७ मा जबरजस्ती करणीका १ सय ४१ उजुरी परेकामा यस आवमा बढेर १ सय ५७ पुगेको छ । जबरजस्ती करणीका मुद्दा धेरै आए पनि करणी प्रयासका उजुरी भने केही घटेका छन् ।
२०७६\७७ मा बलात्कार प्रयासका ५८ उजुरी आएका र यस वर्ष ४६ वटा उजुरी परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार २०७६\७७ मा परेका बलात्कारका उजुरीमध्ये सबैभन्दा धेरै सुर्खेतका छन् । त्यहाँ ६१ बलात्कारका उजुरी परेका छन् ।
मुगुमा जबरजस्तीका ४ वटा उजुरी परेका छन् भने बलात्कार प्रयासका ३ वटा र १ भदौ २०७८ सम्म २ वटा बलात्कारका उजुरी परेको प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए ।
दैलेखमा १७, जाजरकोटमा १०, रुकुम पश्चिममा १५, सल्यानमा १६ र जुम्लामा ६ बलात्कारका उजुरी परेका छन् ।
यसैगरी हुम्लामा २, कालीकोटमा ९ र डोल्पामा एउटा उजुरी परेकामा २०७७\७८ मा सुर्खेतमा सबैभन्दा धेरै ४९ वटा बलात्कारका उजुरी परेको प्रवक्ता श्रेष्ठले बताए ।
उनका अनु्सार गत वर्ष दैलेखमा २३, जाजरकोटमा १४, रुकुम पश्चिममा १२, सल्यानमा ३१, कालिकोटमा ९, जुम्लामा ७, हुम्लामा ४ र डोल्पामा ४ गरी १ सय ५७ बलात्कारका उजुरी प्रहरीमा दर्ता भएका छन् ।
अधिकांश जबरजस्ती करणी बालबालिकासँग हुने गरेकाले यस्ता घटना रोक्न प्रहरीले जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको प्रवक्ता श्रेष्ठले बताए ।