बझाङ–बुधबारदेखि परेको निरन्तर वर्षाका कारण आएको पहिरोले सानिगाड थुनिएपछि नेपाली सेना परिचालन गरिएको छ। बझाङको बुंगल नगरपालिका वडा नम्बर ७ मा पहिरो गई शुक्रबार दिउँसो सानिगाड थुनिएपछि दुई घर पुरिएका थिए ।
सानीगाड खोलाको माथिबाट आएको पहिरोले सानिगाड थुनिएपछि नदी ताल बनेको छ । शनिबार बिहान सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोलीले थुनिएको नदीको बाँधलाई भत्काउन विस्फोट गर्ने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने, ‘कालंगा हाइड्रोको सहकार्यमा सेना परिचालन गरिएको छ । सेनाले सानिगाड र कालंगा नदी आसपासका जोखिम बस्तीमा समेत उद्धार गर्नेछ ।’
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रूपमा क्षति भएको जानकारी दिए ।
घर पुरिँदा स्थानीय बले धामीका तीन भैँसी, दुई गोरु, सात वटा बाख्रा, नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाईका दुई गाई पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताए । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको समेत उनले जानकारी दिए ।
कालंगा र सानिगाड आसपासका दुई दर्जन बढी गाउँ जोखिममा परेका छन् । नदीले बुंगल क्षेत्रका गाडको आसपास क्षेत्रमा भएका सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरेको छ भने हजारौँ रोपनी खेतीयोग्य जमिन जोखिममा परेका छन् ।
बुंगल नगरपालिका प्रमुख धनबहादुर विष्टले सानिगाड तथा कालंगागाड आसपासका बस्तीका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् । नदीको बहाव बढ्दै गएकाले आसपासका बस्तीका वासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् ।