गुल्मी- गुल्मीको धुर्कोट गाउँपालिकाभर बाँदरले आतंक मच्चाएपछि पालिकाले संघीय सरकारसँग सहयोग मागेको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ ।
खेतीमा रोग नलागे र जंगली जनावरले नोक्सान नगरे ६ मुरी मकै उत्पादन हुन्छ । तर, यो वर्ष भने उनले एक मुरी मात्रै मकै स्याहारिन् । बाँदरले मकैबारीमा राज गरेपछि उनको अन्नबाली सखाप भएको हो ।
घरका छोरा, बुहारी र छोरीले बिहानदेखि बेलुकीसम्म बारीमा बसेर बाँदर हेर्दासमेत मकै जोगाउन नसकिएको उनको गुनासो छ । गत वैशाखमा छरेको मकै भदौ अन्तिमतिर स्याहार्ने समय भए पनि बाँदर आतंकले एक महिनाअघि साउन अन्तिमतिरै स्याहार्न बाध्य भएको उनले सुनाइन् ।
वस्तुकै जितेन्द्र भण्डारीको पाँच रोपनी बारीमा ८ देखि १० मुरीसम्म मकै उत्पादन हुन्छ । मकै छरेर दाना लागेदेखि बाँदरले बढी सताउन थालेको उनी बताउँछन् । अहिलेसम्म १८ देखि २० डोका अर्थात् चार मुरीभन्दा बढी मकै बाँदरले नोक्सान गरेको उनले सुनाए ।
बाँदरकै कारण वस्तुमा अधिकांश जग्गा बाँझिएको भण्डारी बताउँछन् । बाँदरले वस्तुका झन्डै दुई तिहाइ कृषक हैरानी खेप्न बाध्य छन् । जैसिथोक, रेसुंगा नगरपालिकाको चेक्मी, गुरुङगाउँ, मालिका गाउँपालिकाका विभिन्न वडालगायत जिल्लाका अधिकांश क्षेत्रमा बाँदरले सताउने गर्छ ।
बाँदर नियन्त्रणका लागि गत वर्ष धुर्कोट गाउँपालिकाले २३ बाँदर धपाउने यन्त्र ल्याएको थियो । ठूलो आवाज निस्कने भएकाले केही बेर बाँदर भागे पनि फर्केर आउने समस्याले उक्त यन्त्र पनि प्रभावकारी नदेखिएको गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले जानकारी दिए ।
गाउँकार्यपालिकाले संघीय सरकारलाई बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न निर्णय नै गरेर पठाए पनि सुनुवाइ नभएको उनको गुनासो छ । जिल्ला वन कार्यालयका प्रमुख प्रभात सापकोटाले जिल्लामा बाँदर नियन्त्रणका लागि कार्यक्रम नभएको प्रतिक्रिया दिए ।