भक्तपुर- भक्तपुरको नवदुर्गा भवानीको नंकी (महिला पुजारी) को विवाद टुंगिएको छ । केही समयदेखि नकीं छनौटको विषयलाई लिएर अल्झिएको विवाद मंगलबार टुंगिएको हो ।
नवदुर्गा द्योछे (देवताको घर) मा भक्तपुर नगरपालिकाको पदाधिकारी, सरोकारवाला व्यक्ति र सम्बन्धित व्यक्तिसँग गरिएको छलफलबाट विवाद टुंगाइएको हो । भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षका अनुसार यो वर्ष नकीं पालो इन्दिरा बनमालालाई दिइने सहमति भएको हो ।
मंगलबार बसेको वैठकमा चारबुँदे सहमति भएको थियो । सहमतिमा अवको दिनमा जस्तोसुकै परिस्थितीको सृजना भएतापनि कोही पक्षले अदालतमा मुद्दा नहाल्ने निर्णय भएको छ । सहमति अनुसार पाटन उच्च अदालतमा नकींको विषयमा राखिएको मुदालाई फिर्ता लिने निर्णयसमेत भएको छ ।
सोही निर्णय बमोजिम निवेदक इन्दिरा बनमाला र हरिगोविन्द बनमाला उच्च अदालतमा गई निवेदन फिर्ता गर्ने छन् ।
नवदुर्गाको ४ वटा पालोहरु इना, झौर, क्वाठन्डली, र थालाछेँ प (पालो) रहेका छन् । वडाध्यक्ष ज्याख्वका अनुसार नवदुर्गाका ४ वटा पालोमध्ये अहिलेको इना पालोमा इन्दिरालाई र पाँच वर्षपछि शिलबहादुर बनमालाको झोर पालोमा हरि गोविन्दलाई दिने सहमति भएको हो ।
किन भयो विवाद?
हरेक वर्ष सहमतिमा एक जना मात्रै नकीं चयन हुने प्रसिद्ध नवदुर्गाको जात्रामा यस वर्ष नकींको लागि दुई जनाले दावी जनाएका थिए । नकींका विषयलाई लिएर हरिगोविन्द बनमाला र इन्दिरा बनमालाले उच्च अदालतमा पाटनमा गएर मुदा दायर समेत गराएका थिए । सोही विवादलाई आधार मानेर केही दिन अगाडि नवदुर्गा द्योछेमा दुई पक्षविच झडपसमेत भएको थियो ।
के हो नवदुर्गाको नकीं ?
नवदुर्गा भवानीको महिला पुजारीलाई नकीं भन्ने गरिन्छ । प्रत्येक वर्ष सबैको सहमतिमा बनमाला समुदायबाट नकीं छनौट गर्ने गरिन्छ । सोही नकींले नवदुर्गाको दैनिक नित्यकर्म तथा पुजाआजा गर्छिन् ।
एक वर्ष नवदुर्गा द्योछेँमा बसी दैनिक पुजाआजा नकींले गर्ने गर्दछ । नकीं छनौट भएपश्चात नयाँ देवता अर्थात् देवगणहरुलाई नाच सिकाउने गरिन्छ ।
नवदुर्गा व्यवस्थापन समितिले हरेक वर्ष गाथमुग चहेंमा महादेव स्थापना गरिने बताए । तर विवादले यस वर्ष महादेव स्थापना पुजा बुधबार ११ बजे सुरु हुने बताए ।