close

महोत्तरीका सामुदायिक तथा संरक्षित जंगल अतिक्रमितको कब्जामा

महोत्तरीका सामुदायिक तथा संरक्षित जंगल अतिक्रमितको कब्जामा

Trulli
ADVERTISEMENT

महोत्तरी- महोत्तरीको बर्दिबासमा सामुदायिक वन तथा स्थानीयद्वारा संरक्षित जंगल फडानी गरेर अतिक्रमण गर्नेहरूको संख्या ह्वात्तै बढेको छ । २०औँ वर्ष अगाडिदेखि जंगल क्षेत्रको जग्गा आफूहरूको भएको दाबी गर्दै केही स्थानीयले डोजर नै लगाएर अतिक्रमण गरेका छन् ।


बर्दिबासस्थित रम्तेल डाँडाको सामुदायिक वन फडानी गरेर रातारात बिघौँ जग्गा व्यक्तिको नाममा बनाएको घटना सेलाउन नपाउँदै बर्दिबास नगरपालिका वडा नम्बर ३ पाटु, वडा नम्बर १ र ३ मा पर्ने रातमाटे डाँडालगायतमा व्यापक जग्गा अतिक्रमण भएको पाइएको छ । 


रातमाटेस्थित पानी खोल्सी सामुदायिक वनको करिब ५ कठ्ठा जग्गा रातमाटेकै स्थानीय बुद्धिबहादुर रिजालले अतिक्रमण गरेको स्थानीयको गुनासो छ । देखादेख सामुदायिक वन तथा स्थानीयको संरक्षणमा रहेको उक्त जग्गा एकाएक व्यक्तिले नियन्त्रणमा लिएपछि अचम्ममा परेको स्थानीय सुनाउँछन् ।


वर्षौंदेखि चुरे तथा सामुदायिक वनले हेर्दै आएको उक्त जग्गा व्यक्तिको हुनै नसक्ने सामुदायिक वनका अध्यक्ष मात्रिका पोखरेलले जिकिर गरे । उनले भने, ‘यो जग्गा वर्षांैदेखी हामीले नै संरक्षण गर्दै आएका छौँ । व्यक्तिले अहिले आएर दाबी गर्दै छन्, जुन सरासर गलत हुँदै छ ।’ 


अहिले वरपरको गाउँलाई नै जोखिम सिर्जना हुने गरी खोलाको सतह परिवर्तन गरिएको छ । वर्षांैदेखि यथास्थानमा बगिरहेको खोलालाई परिवर्तन गरी अन्यन्त्र सारिएको छ भने सामुदायिक वन तथा स्थानीयबाट संरक्षण गरिएका रुखबिरुवासमेत ध्वस्त बनाइएको छ । 


रातमाटेमा अतिक्रमण भएको जग्गालाई लिएर बर्दिबासका जनप्रतिनिधिले पनि आपत्ति जनाएका छन । सामुदायिक वनअन्तर्गत रहेको जग्गा व्यक्तिले दाबी गरी आफ्नो बनाउन खोज्नु अपराध भएको बताउँदै जनप्रतिनिधिले जसरी पनि उक्त चुरे संरक्षित क्षेत्रलाई बचाउनेतर्फ लाग्ने प्रतिबद्धता जनाए ।


‘वनभित्रको जग्गा आफ्नो भनेर दाबी गर्नु दिवासपना मात्र हो,’ वडा नम्बर ३क ा वडाध्यक्ष राजन ढुंगानाले भने, ‘हामी अपराध जसले गरेको भए पनि कारबाही गर्छौं । सम्बन्धित वन कार्यालय तथा डिभिजन वन प्रमुखलाई पनि जानकारी गराइसकेका छाैँ ।’


स्थानीयले वन कार्यालयमा मौखिक उजुरी गरेपछि डिभिजन वन कार्यालयका कर्माचारीले स्थलगत अनुगमन गरेका छन् । वन अतिक्रमण गरी जग्गा नियन्त्रण गरेका भनिएका बुद्धिबहादुर रिजाललाई अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने सव–डिभिजन वन बर्दिबासका प्रमुख सन्तोष यादवले जानकारी दिए । 


वडा नम्बर ३ को पाटुमा पनि अतिक्रमण 

नगरपालिकाको वडा नम्बर ३ स्थित पाटु पुच्छरमा पनि स्थानीयको संरक्षणमा रहेको जग्गा अतिक्रमण भएको गुनासो बढेको छ । करिब १५ वर्षअगाडि रातु नदीमा आएको बाढीले आफूहरूको सयौँ बिघा धानबाली बगाएको भन्दै वडा नम्बर १ का रिसाल परिवार र शमशेरबहादुर थापाले अतिक्रमण गरेको स्थानीको गुनासो छ ।   


उक्त जग्गा स्थानीयले उपभोग गर्दै आए पनि अहिले संरक्षित वनभित्र मकै तथा अन्य खेती गरिरहेको स्थानीयको भनाइ छ ।  उनीहरूले वन क्षेत्र नियन्त्रण लिएर बाली लगाउन सुरु गरेपछि अन्य स्थानीयले समेत नदी उकास जग्गामा खेतीपाती गर्न सुरु गरेका छन । ‘जसको शक्ति उसको भक्तिजस्तै भएपछि हामीले रुख नकाटीकन तरकारी लगाएका छौँ,’ एक जना स्थानीयले भने । 


नदीको ड्यामबाट कम्तीमा ८३ मिटर छाड्नुपर्ने भए पनि अहिले पाटुमा धमाधम जग्गा अतिक्रमण भइरहेको देखिएको छ ।