काभ्रे– काभ्रेसको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरबासीको घर–घरमा पुग्न थालेका छन् ।
नमोबुद्धले अहिले अभियानकै क्रममा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरूका लागि घरघरमै पुगेर भत्ता वितरण गरिरहेको छ । सोही क्रममा नगर प्रमुख तिमल्सिना विभिन्न वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियानमा सरिक भएका हुन् ।
नगरका ज्येष्ठ नागरिक, अशक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू नागरिकको घरघरमा पुगेको नगर प्रमुख तिमल्सिनाले बताए ।
अभियानको क्रममा उनले ज्येष्ठ तथा अशक्त नागरिकको समस्या बुझ्ने र तिनका लागि नगरपालिकाले गर्न सक्ने सहयोगका विषयमा चासोसमेत व्यक्त गरेका
छन् ।
उनले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायतका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । मेयर तिमल्सिनाले बिरामी भएर घरमै बसेकाहरूका लागि औषधीसमेत वितरण गरेका छन् । उनले ज्येष्ठ नागरिकका लागि नगरपालिकाले यस वर्ष विशेष कार्यक्रम अघि सारेको बताए ।
‘यो वर्ष कान सुन्न नसक्ने १ सय जनाका लागि आवश्यक मेसिन र १ सय जना व्यक्तिका लागि दाँत राख्ने कार्यक्रम अघि सारेको छु,’ नगरप्रमुख तिमल्सिनाले भने, ‘मोतियाबिन्दुको समस्या भएका वृद्ध बाआमाका लागि यसअघि नै निःशुल्क शल्यक्रियाको व्यवस्था नगरपालिकाले मिलाएको छ ।’
नमोबुद्ध नगरपालिकाले अहिले गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरूका लागि घरघरमै मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गरिरहेको हो ।
सम्बन्धित बैंकका कर्मचारीसहित अशक्त व्यक्तिको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिँदैछ । यो अभियानअन्तर्गत हालसम्म बैंकसम्म जान नसक्ने वृद्धवृद्धा, अशक्त र दीर्घरोगी गरी ४६ जनाको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले जानकारी दिए ।
नमोबुद्धमा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा ३ हजार २ सय ९१ जना रहेका छन् । त्यसमध्ये मासिक ३ हजार रुपैयाँ भत्ता पाउने ७० वर्षमाथिका ज्येष्ठ नागरिक १ हजार ९ सय २ जना छन् भने २ हजार रुपैयाँ मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० वर्षमाथिका दलित ज्येष्ठ नागरिकको संख्या १ सय २१ रहेको
छ ।
यस्तै, २ हजार रुपैयाँ मासिक भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला ३ सय ९३ तथा २ हजार रुपैयाँ नै भत्ता पाउने विधवा ५ सय २ जना रहेका छन् ।
यसैगरी मासिक ३ हजार भत्ता पाउने पूर्ण अपांगताको संख्या ७१, मासिक १६ सय पाउने आंशिक अपांगता भएकाको संख्या ७५ तथा मासिक ४ सय रुपैयाँ भत्ता पाउने दलित बालबालिका (जन्मेदेखि ५ वर्षसम्मका) को संख्या २ सय २७ छ ।
नमोबुद्धले २०७५ देखि नै अशक्त र दीर्घरोगीलाई घरघरमै बैंकका कर्मचारीसहित पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।