गुलेमी- खेतबारीमा काम गर्ने कृषकको पनि प्रतिस्पर्धा हुन्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । उद्यमी बनेका कृषकमा पनि प्रतिस्पर्धा हुन्छ र ? भनेर एकछिन सोचमग्न बनाउला । तर, गुल्मीको मुसिकोट नगरपालिकालमा भने यस्तै प्रतिस्पर्धा भएको छ । १ सय २८ उद्यमीबीच प्रतिस्पर्धा गरिएको छ भने २ जनालाई उत्कृष्ट उद्यमी घोषणा गरिएको छ । यस्तै, १० उद्यमी भने उत्कृष्ट उद्यमी बनेका छन् । उत्कृष्ट बनेका दुई जनालाई जनही एक लाख र १० उत्कृष्टलाई भने जनही ५० हजार दिइएको थियो ।
यिनी हुन् गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ की दुर्गा थापा । उनले जिविकोपार्जनका लागि परदेश पस्ने सोच बनाएका श्रीमानलाई घरमै राखिन् । स्वदेशमै कृषि कर्म गरेर परिवारसँगै रमाउने थापाको सपना पूरा भयो । थापा दम्पत्तीले जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । जुन कर्मले आज १ सय २८ कृषकमा एक बनाएर पुरस्कार समेत दिलाएको छ ।
मुसिकोट नगरपालिका १ का ३० बर्षीय देवबहादुर घर्तिले पनि चार वर्षदेखि व्यावसायिक रूपमा कुखुरा र माछा पालन गरेका छन् । कुखुरा र माछासंगै फ्रेस हाउस र होटल पनि संचालन गरेकाले राम्रो आम्दानी गरेका छन् । उनीले उर्जाशील ११ बर्ष मलेसिया र कतारमा पनि बिताए । गाउँ फर्किएर अहिले ७ सय कुखुरासंगै ४ हजार माछा पालन गरेका छन् । सोही कर्मले उनलाई पनि उत्कृष्ट उद्यमी बनाएको छ ।
मुसिकोट नगरपालिकाले छनोट गरेको दुई उत्कृष्ट कृषकलाई जनही एकएक लाख र उत्कृष्ट १० लाई जनही ५० हजार दिइएको छ । प्रतियोगितामा १० उत्कृष्ट उद्यमीले आफ्नो उद्यम यात्रा र आगामी तीन वर्षको व्यावसायिक योजना प्रस्तुत गरेका थिए । नगरपालिकाको कार्यक्रमले उद्यम मार्फत आर्थिक वृद्धिलाई बढावा दिने, उद्यम परितन्त्र केन्द्रित सुशासन प्रणालीको सुदृढीकरण गर्ने र समुदाय परिचालन मार्फत मर्यादित रोजगारीलाई बढावा दिने उद्यमीको पहिचान, प्रतिस्पर्धा र सवलीकरणमा सहयोग गर्दै आएको छ ।
‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतिकरण’ कार्यक्रमले कृषकहरुसंग नगरपालिकाको नयाँ सम्बन्ध स्थापित गरेको छ । उद्यमीहरुको नगरपालिका, बैंक तथा बित्तिय संस्था, व्यवसायी र स्थानीयसँंग नयाँ सम्बन्ध जोडिएको छ । जसका कारण पुँजी र बजारको अभावको कारण उद्यमीको कर्म विचलित हुने सम्भावना कम रहने नगरपालिलकाले जनाएको छ ।
पहाडी जिल्लाको समृद्धिको पहिलो आधार कृषि, पशुपालन र पर्यटन हो । यो क्षेत्रलाई तीन वटै सरकारले प्राथमिकता दिएका छन् । तर, अझै पनि कृषि र पशुपालनप्रतिको दृष्टिकोण परिवर्तन भएको छैन । कृषकका सोच र कृषि प्रणाली परम्परागत छन् भने अनुदानले कृषकलाई परनिर्भर बढी बनाएको छ । तर, मुसिकोटमा संचालित ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतिकरण’ कार्यक्रमले थोरै बजेटमा पनि धेरै काम गर्न सकिने गत्तिलो उदाहरण प्रस्तुत गरेको छ ।