हुम्ला- हुम्लाको चंखेली गाउँपालिकाका नेप्काबासीले लामो समयपछि सञ्चार सुविधा पाएका छन् ।
जिल्ला सदरमुकामबाट निकै टाढा तथा पालिका केन्द्र पिप्लाङबाट समेत १ दिन लाग्ने नेप्कागाउँको चीनसँग सीमा जोडिएको छ । उक्त गाउँ हालसम्म कुनै पनि सञ्चार सुविधा थिएन ।
चंखेली गाउँपालिकाको लामो प्रयासपछि ११ साउनमा वडा नम्बर ५ नेप्कामा नेपाल टेलिकमको टावर बनेपछि त्यहाँका नागरिकले सञ्चार सुविधा पाएको पालिका अध्यक्ष धनलाल चौलागाईंले बताए ।
उनका अनुसार काठमाडौं टेलिकम कार्यालयको जडान सामग्रीसहित प्राविधिक सहयोग र गाउँपालिकाको १५ लाख रुपैयाँ ढुवानी गरी सोमबारबाट टावर सञ्चालनमा आएको छ ।
निर्वाचनमा स्थानीय राजनीतिक दलका नेताले गाउँमा सञ्चार सुविधा पुर्याउने चुनावी नारा बनाए पनि अहिलेसम्म सुविधा पाउन सकेका थिएनन् ।
२०७५ बाट सुरु गरिएको टावर निर्माण ३ वर्षपछि सम्पन्न भएको हो ।
अहिलेसम्म फोनसम्म चलाउन नपाएका यहाँका नागरिकले देश-विदेशमा रहेका आफ्ना नानीबाबुसहित कुराकानी गर्न पाउँदा खुसी भएको वडा नम्बर ५ का वडाध्यक्ष भैरव तामाङले बताए ।