close

बिहारको कोसी तटबन्ध भत्किँदा सयौँ घर डुबानमा

बिहारको कोसी तटबन्ध भत्किँदा सयौँ घर डुबानमा

Trulli
ADVERTISEMENT

सुनसरी- नेपालको सीमा नजिकै भारतको बिहारमा सप्तकोसी नदीले तटबन्ध भत्काएर बस्तीमा पसेको छ । नेपालमा रहेको कोसी ब्यारेज क्षेत्रभन्दा करिब आठ किलोमिटर दक्षिणमा सप्तकोसीले तटबन्ध भत्काएर बस्तीमा पसेको हो ।


बिहारको सुपौल जिल्लाअन्तर्गत सिकरहाटामा सप्तकोसी नदी तटबन्ध भत्काएर बस्तीमा पसेको हो । सप्तकोसी नदीको पानी पस्दा सुपौल र मधुवनी जिल्लाका धेरै बस्ती डुबानमा परेका छन् ।


बाँध फुटेको स्थानमा पुगेका भारत बिहार राज्यको सुपौलका डिस्ट्रिक्ट मजिस्ट्रेड (डीएम) महेन्द्र कुमारका अनुसार शुक्रबार बिहान १० बजे सुपौलको सिकरहाटामा कोसीको बाँध फुट्दा सुपौल र मधुवनी जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् ।


उनले कोसी नदीको पानी बस्तीमा पसेपछि हजाराैँ नागरिक विस्थापित हुन पुगेका र सयौँ घर डुबानमा परेको जानकारी दिए ।

 

बाँध फुटेको स्थान सुनसरी र सप्तरीसित सीमा जोडिएको बिहार राज्यको सुपौल जिल्लाअन्तर्गत सिकरहाटा नेपाल-भारत सीमाभन्दा आठ किलोमिटर दक्षिणमा छ ।


सुपौलका एसपी मनोज कुमारले बाँध फुटेपछि बिहार राज्यको सुपौल र मधुवनीको दिघिया, दूधैला, बैला, सतोखर्डलगायत गाउँमा पानी पस्दा पूरै बस्ती डुबेको उनले जानकारी दिए ।


कोसी नदी फुटेपछि ज्यान जोगाउन भागेका भारतीय नागरिक भारतीय राष्ट्रिय राजमार्ग एनएच ५७ लगायतका स्थानमा आएर बसेका छन् ।


कोसी नदीको बाँध फुटेर बस्तीमा पानी पसेपछि भारतीय सुरक्षाकर्मीले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउँदै थप क्षति हुन नदिन बाँध भत्किएको स्थानमा मर्मत सुरु गरेका छन् ।


हाल कोसी ब्यारेजका २२ वटा ढोका खुला राखिएको छ । बिहारमा पानीले ठूलो क्षति पुर्‍याउने अनुमान गर्दै कोसी ब्यारेजमा भारतीय पक्षले ढोका बन्द गर्ने देखिएको छ । पानी रोक्न कोसी ब्यारेजका ढोका बन्द गरिए नेपालमा पनि समस्या हुने सक्ने सम्भावना छ ।


जानकारका अनुसार पानीको उच्च बहावलाई रोक्न बिहार सरकार मातहतको कोसी योजनाले ब्यारेजका ढोका धेरै संख्यामा बन्द गरे ब्यारेजभन्दा उत्तरी क्षेत्रमा पानी जम्मा भई संरचना र तटबन्धलगायत संरचनामा क्षति पुग्ने देखिएको छ ।


२ भदौ २०६५ मा सप्तकोसी नदीले नेपालतर्फ कोसीटप्पु वन्यजन्तु आरक्षभित्र पर्ने तटबन्ध भत्काएर बस्तीमा पस्दा नेपालसँगै भारततर्फ ठूलो जनधनको क्षति गरेको थियो ।


नेपालतर्फको पश्चिम कुशाहा, हरिपुर, श्रीपुर लौकही गाविस पूर्ण रूपमा प्रभावित हुँदा ६ हजार परिवार विस्थापित भएका थिए भने भारत बिहारको सुपौल जिल्लामा समेत ठूलो क्षति पुर्‍याएको थियो ।