close

बर्दिबास बजारमा फोहोरको डंगुर, सम्झौता रद्दले ठेकेदार अन्योलमा

बर्दिबास बजारमा फोहोरको डंगुर, सम्झौता रद्दले ठेकेदार अन्योलमा

Trulli
ADVERTISEMENT

महोत्तरी- अघिल्लो बिहीबार बर्दिबासका स्थानीय सागर बस्नेतले बजारको मुख्य ठाउँमा फोहोरको डंगुर देखेपछीिफोटो खिचेर बर्दिबास फेसबुक समूहमा पोस्ट गरे । त्यसको २ दिनपछि बजारका अन्य ठाउँमा यत्रतत्र फोहोर देखिएपछि अर्का स्थानीय युवा विजय पोखरेलले नगरपालिकाबाट नउठाए कार्यलयको गेटमै पुग्ने चेतावनी दिए ।


बर्दिबास नगरपालिकाले फोहोर उठाएर व्यवस्थापन गर्ने जिम्मेवारी दिएको जनमुखी साना कृषि सहकारी संस्थाले १ सातादेखि फोहोर उठाउन नसक्दा र व्यापारी तथा फुटफाथमा पसल राखेर मनलाग्दी फ्याँक्नाले बजारका मुख्य भाग फोहोर थुप्रिएको छ ।


सामाजिक सञ्जालबाटै फोहोर उठाउन दबाब बढेपछि बर्दिबास नगरपालिकाले जनमुखी साना कृषि सहकारी संस्थालाई फोनै गरेर तुरुन्त उठाउन निर्देशन दिएको छ । उक्त ठेकेदार संस्थाले शुक्रबारबाट फोहोर उठाउन थाले पनि बर्दिबास बजारका मुख्य ठाउँमा मनलागी फ्याँकिएका फोहोरले सहरको सुन्दरतालाई कुरुप बनाएको छ ।


‘व्यापारी, फुटफाथ व्यापारी तथा बटुवाबाट फ्याँकिएका फोहोरले सहरको सुन्दरता मात्र हैन, कतिसम्म दुर्गन्ध फैलँदो रहेछ भन्ने देखियो,’ बर्दिबासकी स्थानीय सविता भण्डारीले भनिन् । फोहोर उठाउने ठेक्का पाएको जनमुखी साना कृषि सहकारी संस्थाकी अध्यक्ष सम्झना ढकालले भने कर्मचारी बिरामी भएका फोहोर समयमै उठाउन नसकिएको जानकारी दिइन् ।


ठेकेदार संस्थालाई फोहोर उठाउन एउटा गाडी नगरपालिकाबाटै उपलब्ध गराइएको छ भने संस्थाले घरबाट फोहोर उठाएबापत घरधनीसँग निश्चित पैसासमेत उठाउँदै आएको छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकासँग १० वर्षे सम्झौता भए पनि नगरपालिकाले त्यसलाई बेवास्ता गर्दै अर्कै कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । 


नगरपालिकाले अर्को कम्पनीसँग गरेको सम्झौताका विषयमा कुनै औपचारिक जानकारी नगराएको र सम्झौता गर्ने कम्पनीका प्रतिनिधि आफैं आएर जानकारी गराएपछि फोहोर सफाइको जिम्मा लिने–नलिने विषयले फोहोर उठाउन समस्या परेको कम्पनीका व्यवस्थापक बताउँछन् ।

 

के भन्छ नगरपालिका 

सम्झौतामा उल्लेख भएबमोजिम जनमुखी साना कृषि सहकारी संस्थाले काम नगरेको हुँदा असारदेखि उक्त संस्थासँगको ठेक्का सम्झौता रद्द गरेको नगरपालिकाले बताएको छ ।


प्रक्रियाअनुसार नै अर्को कम्पनीसँग सम्झौता भए पनि सम्झौतामा उल्लिखित प्रारम्भिक बुँदा कार्यान्वन गर्न उक्त कम्पनीलाई २ देखि ३ महिना लाग्ने बताइएको छ ।


यो अवधिमा पुरानो ठेकेदार कम्पनीलाई नै निरन्तरता दिइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले बताए ।


पूर्वठेकेदार कम्पनीलाई फोहोर उठाएबापत असारसम्मको भुक्तानी गरिसकेको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले प्रस्ट पारे ।