भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले वडा नम्बर ५ र ६ का विपन्न महिलालाई सिलाइ मेसिन र ब्युटिपार्लरको मेच वितरण गरेको छ ।
पालिकाले वडा नम्बर ५ र ६ मा सञ्चालन गरेको गरिबी निवारणका लागि लघु उद्यम (मेडपा) कार्यक्रममा आधारित रही उक्त सामग्री वितरण गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।
सो वडाका महिलाका लागि पालिकाले सीपमूलक तालिम सञ्चालन गरेको हो । तालिममा सहभागीलाई तिनको रुचिअनुसार सिलाइ तथा ब्युटिपार्लर तालिम दिइएको थियो ।
तालिम समापनसँगै सहभागी महिलालाई उक्त सामग्री वितरण गरिएको पालिकाले जनाएको छ । नगरप्रमुख मिश्रका अनुसार १० जनालाई सिलाइ मेसिन र ४ जनालाई ब्युटिपार्लरका कुर्सी वितरण गरिएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रममा प्रशिक्षार्थीलाई सिलाइ मेसिन तथा फेसियल मेच प्रविधि पनि (८०–२०) लागत साझेदारीमा हस्तान्तरण गरिएको
हो ।
सामग्री वितरणपछि नगर उपप्रमुख बिना बास्तोलाले पालिकाले सहयोग गरेको सामग्रीबाट सहभागीले मनग्य आम्दानी गर्ने विश्वास व्यक्त गरिन् । प्रशिक्षार्थीले सामग्री पाएसँगै आत्मनिर्भर हुन सहज बन्ने बताए ।