महोत्तरी– बर्खा सुरु भएसँगै रातु नदीमा उर्लने बाढीको भेलले स्थानीय मदन गिरीलाई निद्रै लाग्दैन । बर्सेनि नदीले बनाउँदै लगेको फराकिलो दायराले हरेक बर्खायाममा जोखिमको दूरी साँघुरिँदै गएको गिरीको अनुभव छ ।
रातु वरपर जग्गा–जमिन हुने कैयौँले नदी कटानका कारण उत्पादन हुने उर्बर भूमि गुमाउँदै गएका छन् । तटीय क्षेत्रमा बसोबास गर्नेहरू घरबारविहीन बनेका छन् भने धनजनको क्षति हुँदै आएको छ ।
गिरीलाई आँखै अगाडि छिमेकी र आफ्नो कैयौँ बिघा उर्बर भूमि बगर बनाएको झलझली याद आइरहन्छ । तराईमा २ दिनदेखि भएको अविरल वर्षाले यतिबेला मराहा, जंगाहा र रातु नदी उर्लिरहेका छन् ।
बर्दिबास नगरपालिकाभित्रको पतलैया, किसाननगर, जुरेटोलको वरपरको माटो कटान गर्दै नदीले यतिबेला आफ्नो दायरा बढाउँदै लगेको छ । घरवास र खेतीयोग्य जमिन रहँदैन कि भन्ने चिन्ताले यतिबेला तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणमा त्रास बढाएको छ ।
स्थानीय तहले अझै सुरु गरेनन् पूर्वतयारी
बाढीका कारण निम्तन सक्ने जोखिमका लागि महोत्तरीका कुनै पनि स्थानीय तहले पूर्वतयारी गरेका छैनन् । बर्सेनि रातु नदीको वितण्डाले बर्दिबास नगरपालिकामा मात्र हैन, भंगाह, धनुषाको मिथिला नगरपालिकालगायत ठाउँ प्रभावित बनाए पनि पूर्वतयारीमा खासै ध्यान दिएको पाइँदैन ।
पछिल्लो केही वर्षयता जनताको तटबन्ध बन्न लागेपछि नदी किनारमा रहेका उर्बर भूमि बगाउने र कटान गर्ने प्रक्रिया रोकिएको छ । तर, जताभावी फडानी र तटबन्ध नजिकै खेती लगाउने मानवीय क्रियाकलापले महोत्तरीमा नदीको वितण्डा बढ्दै गएको छ ।
अविरल वर्षासँगै नदीमा पानीको सतह बढ्दै गएको छ । तर, अहिलेसम्म जोखिम क्षेत्रका स्थानीय तहले सम्भावित जोखिम न्यूनीकरणका लागि विपद् व्यवस्थापन समितिको बैठकसमेत बोलाउन सकेका छैनन् ।
स्थानीय सरकारले खोलाको अनियन्त्रित दोहनलाई रोक्न नसक्दा नदीको सतह नै परिवर्तन भएको छ । मापदण्डविपरीत खुलेका क्रसर उद्योग र ट्रयाक्टर व्यवसायीले नदीजन्य वस्तुको दोहनलाई निरन्तरता दिँदा बर्सेनि जोखिमको शृंखला बढिरहेकामा विज्ञको चिन्ता छ । प्राध्यापक तथा वातावरणविद् विजय सिंह अनियन्त्रित चुरे दोहनको कारण सर्वसाधारणले विपद्को सामना गर्नु परेको बताउँछन् ।
महोत्तरीमा रातु नदीले असर पुग्ने क्षेत्र
रातु नदीमा आएको बाढीले बर्दिबास वडा नम्बर ३ का शमशेर थापाले २०५३ तिर एकै रातमा बिघौँ जग्गा गुमाउनुप¥यो । थापाका सन्धियार रिसाल र दाहाल परिवारले हेर्दाहेर्दै दसौँ बिघा जग्गा गुमाए । जनताको तटबन्ध बन्न थालेपछि भने वर्षौ पहिला सोही बाढीले बगाएको खेतमा अहिले उनीहरूले पुनः खेती थालेका छन् ।
जनताको तटबन्ध बनेका पाटु, कालापानीजस्ता ठाउँमा पहिलेको तुलनामा कम कटान गरे पनि जुरेटोल, पतलैया, किसाननगर, पतलैयालगायत स्थानमा तटबन्धका लागि ध्यान नदिँदा स्थानीयमा त्रास कायमै छ ।
विशेषगरी महोत्तरीको बर्दिबास नगरपालिका बढी नदी प्रभावित क्षेत्रअन्तर्गत पर्दछ । अझ चुरे क्षेत्रअन्तर्गत पर्ने भएकाले वन तथा वातावरण मन्त्रालयले बर्दिबासलाई संवेदनशील स्थानमा राखेको छ ।
किन निम्तँदै छ जोखिम ?
अनियन्त्रित नदीजन्य वस्तुको दोहनले पनि रातु, मराहा र जंगाहा नदीले वरपरका बस्ती तथा उर्बर भूमि जोखिममा परेको स्थानीय बताउँछन् । मापदण्डविपरीत प्रारम्भिक वातावरणीय परीक्षण मूल्यांकनबिनै नदीको सतह बिग्रने गरी माटो, ढुंगा, बालुवा कोतरिनुले विपद् निम्तिरहेको उनीहरूको गुनासो छ ।
नदीजन्य वस्तु उत्खनन गर्दा मेसिन तथा हेभी इक्युपमेन्ट प्रयोग गर्न नपाइने व्यवस्था छ । तर, नगरपालिका नै त्यसलाई बेवास्ता गरेर गत जेठमा खोलाभरि जेसिबी हाल्न अनुमति दिँदै किसाननगर, पशुपतिनगर, पतलैया, जुरेटोल खण्डमा ठेक्का लगाएको थियो ।
स्थानीयले वर्षायाममा उत्खननकै कारण विपद् सामना गर्नुपर्ने भएकाले यसबारे नगरपालिकालाई पटक–पटक ध्यानाकर्षण गराएका थिए । अहिले सोही ठाउँमा नदीले वरपरको जमिन कटान गर्दै गएको छ भने उर्बर भूमिमा सिँचाइ अभाव देखिन थालेको छ । सोही कारण स्थानीय कृषि कर्मबाट पलायन हुने स्थिति सिर्जना भएको छ ।