काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर १० का दलित समुदायलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ । वडाका सबै ८० दलित परिवारका लागि १–१ थान फिल्टर वितरण गरिएको हो ।
बुधबार आयोजित कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीलगायतले फिल्टर वितरण गरेका थिए । नमोबुद्ध नगरपालिकाले प्रत्येक वडामा दलित समुदायको आयआर्जन कार्यक्रमका लागि १/१ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।
सोही रकमबाट स्वस्थ जीवनका लागि शुद्ध पिउने पानी अपरिहार्य रहेको सन्देश प्रवाहका लागि चेतनामूलक कार्यक्रम समेटेर पानी शुद्ध बनाउने फिल्टर वितरण गरिएको हो ।
कार्यक्रममा उपप्रमुख तामाङले दलित समुदायको उत्थानका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको र यसको पूर्ण तथा सफल कार्यान्वयनका लागि सोही समुदायका व्यक्ति बढी क्रियाशिल भए प्रभावकारी बन्ने बताइन् ।
दलित समुदायको आयआर्जन वृद्धिमा नगरपालिकाबाट गर्नुपर्ने सहयोगबारे जानकारी गराउन उनले सम्बन्धित पक्षसँग आग्रह गरिन् । बालबालिकालाई शिक्षादीक्षा दिन आग्रह गर्दै चेतनाको विकास नै सबैभन्दा ठूलो विकास भएको उनको भनाइ छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले लक्षित वर्गका लागि नगरले सक्दो बजेट विनियोजन गरेकाले सदुपयोग हुनुपर्नेमा जोड दिए । नगरपालिकाले दलित समुदायको आयआर्जन कार्यक्रमअन्तर्गत फरक–फरक वडामा छुट्टाछुट्टै ढंगका कार्यक्रम कार्यान्वयनमा लगिएको बताए ।
अहिलेको अवस्थामा शुद्ध पिउने पानी स्वास्थ्यका लागि महत्त्वपूर्ण भएको महसुस गर्दै सांकेतिक रूपमा चेतनामूलक कार्यका लागि फिल्टर वितरण गरिएको र यसको पूर्ण सदुपयोग गर्न उनले आग्रह गरे ।
वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले आगामी दिनमा संस्कृति संरक्षणका लागि आयमूलक कार्यमा प्रयोगका लागि बाजा खरिद योजना बनाइएको बताए । विगतमा पनि दलित समुदायको उन्नति र उत्थानका लागि वडा तथा नगरले कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उनको भनाइ छ ।
नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले वडा नम्बर १० मै वातावरणमैत्री टोल घोषणा गरिएको जानकारी दिँदै यसको सफल कार्यान्वयनका लागि शुद्ध पिउने पानी अनिवार्य आवश्यक रहेको सुनाए ।
पानीबाट लाग्ने रोगबाट नगरबासी सुरक्षित होउन् भन्ने उद्देश्यले यस्ता कार्यक्रममा पनि नगरपालिकाले जोड दिएको उनले बताए । वडा सदस्य विष्णुकुमारी बिकले कार्यक्रमको आवश्यकताबारे प्रस्ट्याएकी थिइन् ।
नमोबुद्धले दलित आयआर्जन कार्यक्रमअन्तर्गत यसअघि वडा नम्बर २ मा बाख्रा तथा वडा नम्बर ३ मा बाजा वितरण गरेको थियो । अन्य वडामा पनि आयमूलक, चेतनामूलक कार्यक्रम भइरहेको नगरपालिकाले जनाएको छ ।