close

आवासको पर्खाइमा गाैशालाका मुसहर बस्ती (भिडियो खबर)

आवासको पर्खाइमा गाैशालाका मुसहर बस्ती (भिडियो खबर)

ADVERTISEMENT

महोत्तरी- नसक्ने कुरामा कसैलाई आश देखाउनुहुँदैन । तर, प्रधानमन्त्रीदेखि स्थानीय सरकारका जनप्रतिनिधि भने नागरिकलाई पूरा गर्नै नसक्ने आश देखाउने गरेका छन् । अझ, पछिल्लो समय विभिन्न योजना र कार्यक्रम तयार गर्ने नाममा स्थानीयलाई आशमा राख्ने गरिएको छ । यस्तै, आशमा महोत्तरीको गौशला नगरपालिकाको मुसहर वस्ती दुई वर्षदेखि बसिरहेका छन् ।

 

प्रदेश सरकारले प्रदेश नता आवास  बनाउने भनेर रड गाडेको पनि दुई वर्ष भयो । तर, न मुसहर बस्तीले घर नै पाए न त राहत नै । अस्थायी टहरा पनि भत्किन लागेको छ । खाना पकाउनका लागि चुलो छैन, सुत्नका लागी न्यानो डस्ना छैन, वर्षा हुनासाथ उनिहरूलाई अत्यास लाग्छ कि छानाबाट छिचोलेर चुहिने पानीको सामना कसरी गर्ने  भनेर ? तर, कसैलाई मतलब छैन । 

 

जनता आवास अन्तर्गत प्रदेश सांसद विकास कोषबाट गौशाला नगरपालिकाका अति विपन्न समुदायका लागि प्रदेश सरकारले झण्डै ३ वर्ष अगाडी ९२ वटा भुकम्पप्रतिरोधी घर बनाउने जिम्मा लिएको थियो । २०७६ सालमा नै घर बनिसक्ने भन्दै सरकारले प्रतिवद्धता जनाएको थियो । तर, दुई वर्षसम्म घर बन्न नसक्दा वर्षाका कारणले मुसहर समुदाय बिचल्लीमा छन् ।

 

घर बन्ने आशामा अस्थायी टहरामा स्थानान्तरण भएका कतिपय मुसहरको वर्षाको सुरुवातसँगै पानी चुहिने समस्याले रातभरि जागा नै बस्नुपर्ने अवस्था छ । कयौँ साना बालबालिका चिसो कै कारण बिरामी हुने गरेका छन् । प्रदेश सभा सदस्य भरत साहको नेतृत्वमा बन्ने भनिएको ९२ वटा घरको कार्यसुस्तताले मुसहर समुदायले पनि नेताको आश्वासन भोट फकाउने कडीको रुपमा बुझेका छन् । 

 

ठूलाठूला सपना देखाएर भोटका लागि चुनावको समयमा नमस्कार गर्ने नेताको मुसहर समुदायले अहिलेसम्म नाकमुख देखेका छैनन् । अस्थायी टहरामा बस्दै आएका कयौँ मुसहरवासी वर्षाको समस्याले चरम पीडा भोगिरहेका छन् । अझ कोरोना माहामारी कै कारण हातमुख जोड्न समेत समस्या सिर्जना भइरहेको छ । स्थानीय आक्रोशित छन् । 


अति विपन्न र गरीब समुदायको रूपमा रहेका मुसहर समुदायको लागि जनप्रतिनिधिले जिम्मेवारीलाई फराकिलो बनाउन नसक्दा परिणाम स्वरूप दुःखका पहाड थपिँदै गएका छन् । घरको नाममा दुई वर्षदेखि मुसहर समुदायले जगमा ठड्याइएका रड हेरेर दिनचर्या गुजारिरहेका छन् । अहिले उनीहरूसँग खाना पकाउनका लागि चुलो छैन, सुत्नका लागी न्यानो डस्ना छैन, वर्षा हुनासाथ उनिहरूलाई अत्यास लाग्छ कि छानाबाट छिचोलेर चुहिने पानीको सामना कसरी गर्ने ? सरकारले त हेरेको छैन बरु विदेश बस्नेले मुसहर बस्तीलाई सहयोग गर्दै आएका छन् । 


स्थानीय सरकारले समेत ठोस पहलकदमी लिन नसक्दा वर्षेनि वर्षायाममा मुसहर समुदायका समस्या बढ्दै गएको छ । घर बन्ने आशामा बस्दाबस्दै अस्थायी टहरामा गुजारा गर्दै आएका मुसहरको बाँसको खाँबाहरू काम नलाग्ने भएका छन् । छानामा खर कुहिएर पानी चुहिने क्रम रोकिएको छैन । दिनहुँ सर्प, विच्छी तथा विषालु जीवको त्रासले बालबालिका र वृद्धमा मनोवैज्ञानिक असर पर्दै गएको छ । यता, स्थानीय सरकारका जनप्रतिनिधि भने मुसहरले भोगेको समस्या छिट्टै अन्त्य हुने दावी गर्छन् । 


हुन्छ र गर्छु भन्ने आश्वासनमा राखेर गरीब समुदायको सपनामा तुषारापात गर्ने छुट कुनै स्थानीय सरकारका जनप्रतिनिधिलाई छैन । त्यसैले मुसहरले भोगेको समस्या समाधान गर्न टड्कारो देखिएको छ । दुई वर्षदेखि आशमा राखेर अन्ततः घरको न घाटको बनाउन कदापि हुँदैन ।