close

बितेका ५ दिनमा बाढीपहिराेले १६ को मृत्यु, २ हजार विस्थापित

बितेका ५ दिनमा बाढीपहिराेले १६ को मृत्यु, २ हजार विस्थापित

Trulli
ADVERTISEMENT

काठमाडौं- गृह मन्त्रालयले पछिल्लो ५ दिनमा लगातारको वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको र अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएको बताएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा ३/३ तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालीकोट, प्युठान र बाजुरामा १/१ जना रहेको गृह मन्त्रालयले जनाएको छ ।


बाढीपहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले बताएको छ । तीमध्ये १० पुरुष, ४ महिला र २ बालिका छन् । बेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन् । बाजुरा र रूपन्देहीमा १/१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको मन्त्रालयले बताएको छ ।


बाढीपहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट ८ जना गरी १०२ जनाको उद्दार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै, यार्सा टिप्न गएका मनाङका ७० जनाको पनि शुक्रबार नै उद्दार गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।


बाढीपहिरोका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ । वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालीकोट, सल्यान, दैलेखलगायत जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।


२ हजार विस्थापित

गृह मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरोका कारण १९९ वटा घरमा क्षति भएको छ । १२ वटा पुल, एउटा विद्यालय र ७ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।


५२८ घरका १७६० जना मानिस विस्थापित भएको प्रहरी प्रवक्ता कुँवरले बताए । बाढीपहिरोको कारण सिन्धुपाल्चोकका इलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ । 

 

बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकाल्ने कार्यमा स्थानीय, प्रशासन र जनप्रतिनिधिको समन्वय र सहयोगमा ३ वटै सुरक्षा निकाय परिचालित भएको गृह मन्त्रालयले बताएको छ । 

मेलम्ची पुनः बाढी आएपछि सतर्क रहन प्रशासनको आग्रह

अनुसार मेलम्ची नदीमा शुक्रबार राती पुनः बाढी आएपछि नागरिकलाई सतर्क रहन जिल्ला प्रशासनले आग्रह गरेको छ । ‘पानी नपरे पनि बाढी आएको छ । शिरतिर पानी पर्‍यो कि भन्ने आशंका छ’, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले भने ।


पानीको सतह माथि आएकाले दोलालघाटको पुल पनि जोखिममा रहेको अधिकारीले बताए । मेलम्ची क्षेत्र तथा हेलम्बुस्थित नदी आसपासका नागरिकलाई बिहीबार नै सुरक्षित स्थानमा सारिसकिएको छ भने आवश्यक सतर्कता अपनाउन प्रहरीले स्थानीयलाई आग्रह गरेको छ ।


सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्चीमा पुनः बाढी आएपछि प्रशासनले सक्रियता बढाउँदै नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको जानकारी दिए ।

 

हेलम्बु प्रहरी कार्यालयको ३ तले पक्की भवन ढल्यो

शुक्रबार राती मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु इलाका प्रहरी कार्यालयको ३ तले भवन ढलाएको छ । बाढीको उच्च जोखिम भएकाले प्रहरीले सो भवन छाडिसकेको थियो । 


ग्याल्थुममा रहेको इस्ट प्वाइन्ट माध्यमिक विद्यालयको भवन रहेको जमिन कटान हुँदा ढल्ने अवस्थामा पुगेको छ ।


हेलम्बु क्षेत्रका तालामाराङ, ग्याल्थुम, शेरा, चनौटे, किउल, तिम्बु, अम्बाथानलगायत स्थानमा नदी छेउ रहेका बस्ती बगरमा परिणत भएका छन् । गत १ असारदेखि मेलम्ची खोलामा निरन्तर बाढी आइरहेको छ ।