दोलखा– चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लप्ची क्षेत्रबाट लामाबगर फर्किंदै गरेका २२ जना नागरिकलाई नेपाली सेना र प्रहरीको टोलीले उद्दार गरेको छ । टेलिफोन सम्पर्क विच्छेद भएका कारण १ दिन कष्टकर दिन बिताएको खबर पाउनासाथ सेना र प्रहरीको टोलीले उद्दार गरेको हो ।
बिगु गाउँपालिका उपाध्यक्ष सजीव ओलीको अगुवाइका आएको पालिकाको टोलीसहित डोरीको सहायताले उनीहरूको उद्दार गरिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुशील केसीले बताए ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ड्याम साइटको माथिल्लो भागको छाँगोबाट आउन नसकेपछि डोरी लगाएर १२ पुरुष र १० जना महिलाको उद्दार गरिएको केसीले जानकारी दिए ।
अविरल वर्षा भएपछि घर फर्किएका यार्सा टिप्ने र केही माइक्रोहाइड्रोमा काम गर्ने नागरिकलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्याल दोलखाले बताएको छ ।
वर्षाका कारण लामाबगरमा रहेको तामाकोसीको ड्याम साइटमा काठका मुढा भरिएपछि डुंगाबाट उनीहरूलाई लामाबगर तार्न नसकिएका कारण भीरबाटै डोरीको सहायताले उद्दार गरिएको हो ।
दोलखाको स्थानीय प्रशासन विपद्जन्य जोखिम व्यवस्थापन पूर्वतयारीमा जुटेको छ । स्थानीय प्रशासनले प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने, ‘विपद् व्यवस्थापनलाई यहाँस्थिजत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई विपद् निम्तिएको खबर पाउनासाथ तत्काल रेस्क्यु गर्न तयारी अवस्थामा राखेका छौँ । डिभिजन सडक कार्यालय चरीकोटमा रहेका डोजर, एक्जाभेटरलगायत सवारसाधन तयारी अवस्था छन् ।’
स्थानीय प्रशासनले मनसुन प्रतिकार्य योजना तयार गरेको छ । यसका लागि थप योजना बनाउन आउँदो आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्ने प्रजिअ घिमिरेले जानकारी दिए ।
प्रजिअले स्थानीय तहलाई उद्दार, राहत, स्थानान्तरण र पुनर्निर्माणलाई प्राथमिकताका दिन आग्रह गरेका छन् । चरीकोटस्थित तारादल गणले विपद् व्यवस्थापनका लागि १०४ जना तालिमप्राप्त सैन्य जनशक्ति तयारी अवस्थामा राखेको छ ।
जिल्लामा रहेका गुल्म तथा सुरक्षा बेसक्याम्पमा समेत तालिमप्राप्त सेनासहित विपद् व्यवस्थापन सामग्री तयारी अवस्थामा राखेको गणपति अनिल केसीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय दोलखालाई विपद् व्यवस्थापनका लागि प्राप्त र ब्यारेकमा रहेका थप सामग्रीसमेत तयारी अवस्थामा रहेको गणपति केसीले बताए । उनले भने, ‘जिल्लाका कुनै स्थान विपद्मा परेको सूचना आए १५ मिनेटभित्र पुग्ने गरी तयारी अवस्थामा छौँ । गुल्म तथा सुरक्षा बेसक्याम्पबाट सैन्य शक्ति पठाउनुका साथै थपका लागि गण तथा हेडक्वार्टरमा माग गर्ने तयारी छ ।’
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार विपद् न्यूनीकरणका लागि पूर्वतयारी भइरहेको छ ।
उनले भने, ‘विपद् व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमान्डमा २५ जना तालिमप्राप्त प्रहरी टोली तयारीमा राखेका छौँ । जिल्लाका इलाका प्रहरी कार्यालयमा ७ जनाको विपद् व्यवस्थापन टोली तयारी अवस्थामा छ ।’ यस्तै, प्रहरीले स्थानीय तह, नेपाल रेडक्रस र नेपाल पत्रकार महासंघसँग पनि समन्वय गरिरहेको छ ।