जुम्ला– जुम्लाको पातारासी गाउँपालिकाको टुङटुङ लेकको पहिरोमा परी ४ जना सम्पर्कविहीन भएका छन् । पातारासीको लेखीढुंगा टुङटुङ लेकमा पहिरोमा परेका ४ जना सम्पर्कविहीन भएका हुन् ।
पहिरोमा परेका व्यक्तिको खोजीका लागि आफन्तजन उक्त स्थानतर्फ गइरहेको प्रहरीले जनाएको छ । पाटन क्षेत्रमा फोन नलाग्ने भएकाले सम्पर्क हुन सकेको छैन ।
घाइतेमध्ये सुकबहादुर नेपाली र तारा नेपालीको अवस्था गम्भीर रहेको स्थानीयलाई उद्धृत गर्दै जुम्लाका प्रहरी प्रमुख दानबहादुर थापाले बताए । अरू २ जना घाइतेको नाम खुलिसकेको छैन ।
उनीहरू केही समय पहिले जडीबुटी कोर्न पाटन गएका थिए । निरन्तर वर्षा भएपछि गाउँ फर्कन थालेका उनीहरू पहिरोमा परेका हुन् । बुधबार बिहान पहिरोमा परेको आफन्तजनले फोन सम्पर्क गरेर जानकारी गराएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाईंले भने, ‘अहिलेसम्म सम्पर्कमा छैनन् । फोन सम्पर्क हुन नसक्दा उद्दार कार्य अघि बढाउन समस्या भइरहेको छ ।’
४ जना पहिरोमा परेको खबर पाउनेबित्तिकै हेलिकप्टरबाट उद्दार गर्ने तयारी भए पनि मौसम अनुकूल नहुँदा समस्या भएको छ । उनले भने, ‘अहिलेसम्म न मौसम खुलेको छ, न त आफन्तको फोनै आउँछ । सदरमुकामभन्दा ३ दिन टाढा पर्ने भएकाले सम्पर्क हुन असहज भइरहेको छ ।’
घाइते कस्तो अवस्था र कहाँ छन् भन्नेबार समाचार तयार पार्दासम्म यकिन विवरण प्राप्त हुन सकेको छैन । उद्दारका लागि सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखिए पनि पानी परिरहेकाले मौसम खुलेको छैन । मौसम खुल्नेबित्तिकै उद्दार सुरु हुने स्थानीय प्रशासनले जनाएको छ ।
घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गर्ने तयारी गरिए पनि खराब मौसमका कारण हेलिकोप्टर घटनास्थलमा पुग्न नसकेको जुम्लाका डिएसपी दानबहादुर थापाले बताए ।
घटनास्थलतर्फ प्रहरी परिचालन गरिए पनि त्यहाँ पुग्न पैदल २ दिन लाग्ने हुनाले हेलिकोप्टरबाटै उद्दार गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको दहीखोला, गगने खोला, पिली, रारालिहीलगायत ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार अविरल वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो गएको छ ।
‘पहिरो गएको ठाउँमा अहिले पन्छ्याउने काम भइरहेको छ’, उनले भने, ‘सडक डिभिजन कार्यालय जुम्लाका डोजर परिचालन गरी बाटो खुलाउने प्रयासमा छौँ । सडकमा पटक–पटक पहिरो जाँदा समस्या परेको छ ।’
कोरोना संक्रमणले जिल्ला–जिल्लामा निषेधाज्ञा भएकाले कर्णाली राजमार्गमा फाट्टफुट्ट मात्र सवारी साधन गुड्ने गरेका छन् । कालीकोटका डिएसपी चक्रबहादुर शाहका अनुसार कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रु प्रभावित भएका छन् ।