रूपन्देही– लगातारको वर्षासँगै नदीनालामा पानीको बहाव बढ्दै गएपछि रूपन्देही जिल्ला प्रशासनले उच्च सतर्कता अपनाएको छ ।आवश्यक उद्धार तथा सुरक्षाका लागि सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले
बताए ।
तिनाउ र दानव नदीबाट हुन सक्ने डुबान, कटान तथा सम्भावित दुर्घटनालाई दृष्टिगत गरी सशस्त्र प्रहरीको २ वटा उद्धार टोली तयारी अवस्थामा राखिएको छ । उक्त टोलीमा १५÷१५ जना जनशक्ति रहेको र आवश्यकताअनुसार थप गरिने प्रजिअ तामाङको भनाइ छ ।
यसैगरी संघीय प्रहरी इकाइ, नेपाल प्रहरी, नेपाली सेनालगायत सुरक्षा निकायलाई आवश्यक उद्धार सामग्रीसहित तैनाथी अवस्थामा रहन निर्देशन गरिएको उनले बताए । स्थानीय निकायबीच आवश्यक समन्वय गरी सूचना आदाप्रदान भइरहेको तामाङले जानकारी दिए ।
लगातारको वर्षासँगै तिनाउ नदीले खतराको संकेत पार गरेपछि बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले स्थलगत निरीक्षण गरी तयारी अवस्थामा रहन सुरक्षा निकायलाई आग्रह गरेका थिए ।
तिनाउ, दानव नदी किनारमा रहेका बस्तीमा बाढी पस्न सक्ने तथा नदी कटान हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन उनले आग्रह गरे ।