close

सिद्धिचरणका सबै वडामा पूर्वविद्यार्थीले दिए स्वास्थ्य सामग्री

सिद्धिचरणका सबै वडामा पूर्वविद्यार्थीले दिए स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविका पूर्वविद्यार्थीले सिद्धिचरण नगरभित्रका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । विद्यालयको २०४३ को एलएलसी ब्याचका विद्यार्थीको समूहले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

 

उक्त विद्यालयबाट २०४३ मा एसएलसी उत्तीर्ण भएर विभिन्न पेसा, व्यवसाय र सेवामा आबद्ध पूर्वविद्यार्थीको समूहले नगरपालिकामा रहेका ११ वटा स्वास्थ्य चौकी, ३ वटा सहरी स्वास्थ्य केन्द्र र २ वटा अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

 

सगरमाथा जनता माविको प्रांगणमा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई सिद्धिचरणका नगरप्रमुख मोहनकुमार श्रेष्ठको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको एमाले नेतासमेत रहेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हशंराज वाग्लेले बताए ।


यसअघि विभिन्न राजनीतिक नेतृत्वबाट वितरण भएका स्वास्थ्य सामग्री लक्षित वर्गमा पुग्न नसकेकाले लक्षित वर्गको पहुँच हुने गरी वडा–वडाका स्वास्थ्य संस्थामा सामग्री वितरण गरिएको उनले जानकारी दिए ।

 

देश–विदेशमा रहेका पूर्वविद्यार्थीले संकलन गरेको रकमबाट पल्स अक्सिमिटर, थर्मल गर्न, पिपिई सेट, स्यानिटाइजर, फेस सिल्ड, गाउनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । १२ वडाका १४ स्वास्थ्य संस्था, रुम्जाटार र सामुदायिक अस्पताल सोब्रुलाई सामग्री हस्तान्तरण गरिएको हो ।

 

एसएलसी २०४३ ब्याचका विद्यार्थी तथा सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेश श्रेष्ठ, वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष वाग्ले, व्यवसायी दिनेश राजभण्डारी, शिक्षक कान्ति राजभण्डारीलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको छ ।

 

कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न र स्वास्थ्य संस्थालाई सामग्री अभावले सेवा प्रवाहमा कमजोरी नहोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सो समूहले जनाएको छ ।


स्वास्थ्य सामग्री हस्तान्तरणसँगै स्वास्थ्यकर्मीलाई ओम समाज डेन्टल अस्पताल र विराज समाजका तर्फबाट सुरु गरिएको कोभिड-१९ विरुद्धको मेचीकाली मनोपरामर्शअन्तर्गत डा. सुवास घिमिरे, अभिनेता निखिल उप्रेती, शिक्षा क्षेत्रका विज्ञ कर्ण शाहीलगायतले सहजीकरण गरेका थिए ।


सामग्री हस्तान्तरण कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, रेडक्रस सोसाइटीका सभापति सुमन राजभण्डारीलगायतले सगरमाथा जनता माविको २०४३ को एसएलसी ब्याच मनकारी भएको प्रतिक्रिया दिए । सामग्री हस्तान्तरण पूर्वविद्यार्थी समाजका तर्फबाट वाग्ले र राजेश श्रेष्ठले गरेका थिए ।

 

आमा-बाबुको सम्झानामा सुरक्षा सामग्री 
आफ्ना दिवंगत आमा–बाबुको सम्झनामा सशस्त्र प्रहरीका पूर्वएआइजी राजेश श्रेष्ठको परिवारले २ वटा स्वास्थ्य संस्थामा थप व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । 

 

सामुदायिक अस्पताल मिसन र जिल्ला अस्पतालमा पिपिई सेट हस्तान्तरण गरिएको हो । जिल्ला अस्पतालमा १५ थान र सामुदायिक अस्पतालमा ३० थान व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।