close

कहिले रोकिएला बालबालिकामाथि हुने अत्याचार ? (भिडियो खबर)

कहिले रोकिएला बालबालिकामाथि हुने अत्याचार ? (भिडियो खबर)

ADVERTISEMENT

कपिलवस्तु- हरेक वर्ष बालबालिकामाथि अत्याचार विरुद्धको दिवसमा बालबालिकाले भोगेका शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक पीडाको मुद्दाको उठान गरेर त्यस्ता घटना निरुत्साहनका लागि छलफल र जागरण गरिन्छ । तर, समाजमा अहिलेसम्म बालबालिकामाथि हुने शोषण, दमन, हिंसा, हत्या जस्ता घटना ज्यूँका त्यूँ छ  । कतिपय यस्ता पुराना घटना पनि छन् जुन अहिलेसम्म सल्टिन सकेको छैन । त्यसमध्येको एक हो, कपिलवस्तुको शिवरानी हत्या । १४ वर्षीया शिवारानीको हत्या भएको १० वर्ष बितिसक्दा पनि अभियुक्त पक्राउ परेका छैनन् । यस्तो अवस्थामा निर्दोष बालबालिकामाथि हुने अन्य अत्याचार र हिंसा घट्ने सम्भावना नै कम रहने पीडित पक्ष बताउँछन् । 


१० वर्षअघि यौन अपराध र हिंसाको शिकार भएकी कपिलवस्तुकी एक १४ वर्षीय बालिकाको हत्याकाण्ड अनुसन्धान रोकेको राज्य अहिलेसम्म ढुक्क देखिएको छ । कञ्चनपुरकी निर्मला पन्त र बैतडीकी भागिनाथी भट्ट झैं क्रुर यौनपिपासु अपराधीको हातबाट ज्यान गुमाएकी शिवरानी थारूको परिवारलाई न्याय मिल्नु त परकै कुरा, राज्यले नै बिर्सिदिएको छ । 


प्रहरी र अधिकारकर्मीले समेत नदिँदा शिवरानी हत्याकाण्ड अनुसन्धान अलपत्र परिरहेको छ । २०६८ साल असोजमा नाच हेर्न भनी घरबाट निस्किएकी शिवरानीको बलात्कारपछि हत्या भएको थियो । सोही साल असोज १४ गते शिवरानीको शव गाउँ नजिकको नहरमा फेला परेको थियो । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले बलात्कार पछि हत्या भएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । 

आमासँग अनुमति लिएर घरबाट निस्किएकी शिवरानी साँझ ८ बजे नाचको रिहर्सल हेर्न पुगेकी थिइन् । बिहान घरमा नदेखेपछि उनको परिवारले खोजतलास शुरू गरेको थियो । खोज्दै गएका परिवारले गाउँनजिकै रहेको बाणगंगा सिँचाइको नहरमा शिवरानीको शव फेला पारेका थिए । तर, उक्त घटना अहिलेसम्म पनि सुल्झिन सकेको छैन । 


पछिल्लो समय बालबालिका माथि हुने हिंसाका घटनासमेत बढ्न थालेका छन् । स्थानीय सरकार गठन भए यता पनि यस्ता घटना न्युन हुन सकेका छैनन् । कपिलवस्तु जिल्लामा पछिल्ला ३ वर्ष भित्र भएका घटना केलाउने हो भने बाल बालिका माथि हुने हिन्साका घटना हरेक वर्ष बढ्दै गएको छ ।

 

 बालबालिका सबै भन्दा धेरै यौन जन्य हिन्साबाट प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५÷७६ मा ३१, ०७६÷७७ मा ४४ र ०७७÷७८ मा ५५ बालबालिका हिन्साको शिकार भएका छन् । ति मध्ये ८० प्रतिशत घटना बलात्कारकोे छ ।

 

धेरै जसो यौन जन्य हिंसाको मुद्दामा बालबालिका नै धेरै पर्ने गरेका छन् । ति मध्ये पनि बिपन्न बर्गका बालिका धेरै प्रभावित भएका छन् । उनीहरु सँग आर्थिक अवस्था सवल नहुँदा गाउँ घरमा पैसा दिएर मिलाउने प्रचलन समेत छ । यता हिंसाका घटना कम गर्नका लागि गैर सरकारी संस्था र स्थानीय सरकारले सचेतनाका को कार्यक्रम सञ्चालन गरेपनि घटनाका संख्या कम हुन भने सकेको छैन ।

 

कार्यालय प्रमुख र अनुसन्धान गर्ने क्षेत्र परिवर्तन भएपछि शिवरानी हत्याको फाइल अलपत्र अवस्थामा छ । घटनाबारे अनुसन्धान गर्दै आएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका तत्कालीन प्रहरी निरीक्षक शिशु शर्मा सरुवा भएपछि हत्याको अनुसन्धान कमजोर भएको थियो । घटना भएको क्षेत्र हेर्ने जिम्मा इलाका प्रहरी कार्यालय पिपरामा सरेपछि अनुसन्धान समेत प्रभावित भएको थियो । शिवरानी त प्रतिनिधि पात्र हुन्, निर्मला जस्ता कयौँ कोपिला चुँड्ने पापी अझै पक्राउ पर्न सकेका छैनन् । सरकारको लाचारीपन र बेवास्ता नै यसको उपज हो ।