डोल्पा- डोल्पाको उत्तरी क्षेत्र सडक सञ्जालले समेत जोडिएको छैन । लामो सयमदेखि गरिएको बन्दाबन्दीका कारण बाहिरबाट गाउँ पुग्ने पनि भेटिएका छैनन् ।
तर, केहीदिन यता उपल्लो डोल्पाका प्रत्येक घरमा कोरोनाका लक्षणसँग मेल खाने बिरामीहरु देखिएका छन् ।
डोल्पो बुद्ध गाउँपालिकाका विभिन्न वडाहरुमा कोरोनाको लक्षणसँग मेल खाने बिरामीहरु देखिएको गाउँपालिकाले जनाएको छ ।
करिब एक महिना अघि देखि रुघा, खोकी, ज्वरो र शरीर दुख्ने, खान मन नलाग्ने लगायतका लक्षण बिरामी वढ्दै गएको पालिकाका अध्यक्ष तेम्वा गुरुङले पालिकाखबरलाई जानकारी दिए ।
पालिकाका अनुसार एकै परिवारका पाँच जनासम्म विरामी परिरहेका छन् । तर स्थानीय स्वास्थ्यचौकीमा सिटामोलसमेत नभएको स्थानीयको गुनासो छ ।
गाउँमा ५० जनाभन्दा वढी कोरोनासँग मिलने लक्षण भएका विरामी भेटिएको अध्यक्ष गुरुङ बताउँछन् ।
स्वास्थ्य संस्थासम्म आउन नसक्ने बिरामीहरुका लागि कुनै सुरक्षाका मापदण्ड नअपनाएर सामान्य मास्कका भरमा औषधिहरु बोकेर घरघरमा जनप्रतिनिधि पुग्दा कोरोनाको जोखिम झन वढेको छ ।
कोरोना परीक्षणको किटसमेत उपलब्ध नभएका कारण कसैको परीक्षण गर्न नपाएको पालिकाले जनाएको छ । परीक्षण गर्न नपाएपछि केही दिन विरामी पर्दै निको हुँदै गरेका छन् । पालिकाको तिन्जे गाउँमा पनि कोभिड लक्षणका बिरामीहरु बढिरहेका छन् ।
गाउँपालिका सिल
गाउँपालिकामा कोभिड-१९ लक्षणसँग मेलखाने बिरामीको चाप वढेपछि पालिका प्रवेशमा रोक लगाइएको छ । पालिकाले २१ जेठदेखि गाउँपालिका सिल गरेको जनाएको छ ।
गाउँपालिकामा प्रवेश गर्न एन्टिजिन वा पिसिआर रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुमात्रै तोकिएका जनप्रतिनिधि तथा कर्मचारीसँग समन्वय गरेर जान पाउने व्यवस्था गरिएको छ ।
उता शे-फोक्सुण्डो गाउँपालिकामा पनि बिरामीको संख्या वढ्दै गएको पालिकाले जनाएको छ ।
गाउँपालिका अन्तर्गत पर्ने साल्दाङ्ग, रिग्मो, पुग्मोलगायतका गाउँमा बिरामीहरु वढेका छन् ।
नेपालकै गहिरो ताल फोक्सुण्डो जान आन्तरिक तथा बाह्य पर्यटक सबैलाई पिसिआर वा एन्टिजेन नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
कोभिड-१९ लक्षणसँग मिल्दोजुल्दो बिरामी वढेपछि शे-फोक्सुण्डो गाउँपालिकाले यथाशीघ्र हेलिकोप्टरबाट औषधि ढुवानीको तयारी थालेको छ ।