रुकुम पूर्व- कोरोना महामारीको समय रुकुम पूर्वमा पाइने यार्सा संकलनमा रोक लगाइएको छ । यार्सा संकलनमा फुकुवा गर्दा धेरै मान्छेको आगमन हुने भएपछि स्थानीय सरकार र जिल्ला प्रशासनको समन्वयमा संकलनमा रोक लगाइएको हो ।
यार्सा पुथाउत्तरगंगा वडा नम्बर १, २ र ३ का बुकी पाटन क्षेत्रमा पाइने गरेको छ । उक्त ठाउँमा यार्सा संकलनमा रोक लगाएको मौका छोपेर चोरी हुन सक्ने आशंकामा पुथाउत्तरगंगा वडा नम्बर १,२ र ३ का वडाबासी गाउँले यार्सा सुरक्षामा खटिएका हुन् ।
उक्त वडाका गाउँलेले अहिले आलोपालोमा गरी यार्सा पाइने बुकी पाटन क्षेत्रको नाकामा सुरक्षा दिन थालेको वडा नम्बर १ मैकोटका भरतकुमार पुन मगरले जानकारी दिए ।
कोरोना संक्रमणका कारण यार्सा संकलनबाट हुने स्थानीयको आम्दानी खोसिएको पुनले बताए ।
निषेधाज्ञा र यार्सा टिप्नमा रोक लगाइएको मौकामा चोरी हुन सक्ने देखिएपछि नाकामा गाउँले सुरक्षामा खटिएको उनको भनाइ छ ।