close

सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति विवाद चुलिएपछि डाकियो सर्वदलीय बैठक 

सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति विवाद चुलिएपछि डाकियो सर्वदलीय बैठक 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– सरकारले बजेट वक्तव्यमार्फत ताप्लेजुङस्थित सुकेटार विबमानस्थलको नाम परिवर्तन गर्ने निर्णय लिएपछि मिश्रित प्रतिक्रिया आउन थालेका छन् । सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति अधिकांशले विरोध जनाएका छन् । पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईले सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति सांकेतिक विरोध बुझिने घुमाउरो प्रतिक्रिया जनाएका छन् ।

 

सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘ऐतिहासिक रूपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुअघि त्यसको आवश्यकता, औचित्य, सान्दर्भिकता र परिणामबारे स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण हुनुपर्छ । यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुन सक्छ । असल काम
पनि असल नियत र सहि प्रक्रियाबाट गरियो भने मात्रै सही परिणाममा पुग्न सक्छ । अन्यथा, विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नुपर्छ ।’

 

भट्टराईको प्रतिक्रिया आउनुअघि माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजयप्रकाश वनेमले सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति सामाजिक सञ्जालमै पूर्वमन्त्री भट्टराईको औपचारिक धारणा माग गरेका थिए । सरकारले शनिबार आर्थिक २०७८÷७९ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमार्फत सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल र तेह्रथुमको चुहानडाँडास्थित विमानस्थलको नाम आङछिरिङ शेर्पा विमानस्थल नामकरण गरिने घोषणा गरेको थियो ।

 

सरकारले गरेको सो निर्णयको अधिकांशले विरोध जनाएका छन् । विमानस्थलको नाम परिवर्तनप्रति असहमति जनाउँदै आइतबार अपराह्न सर्वदलीय बैठकसमेत आह्वान गरिएको छ । सुकेटार विमानस्थलको नाम परिवर्तनको नागरिक स्तरबाट समेत विरोध हुन थालेको छ । 
ताप्लेजुङ सरोकार केन्द्र काठमाडांैका उपाध्यक्ष टंक श्रेष्ठले सामाजिक सञ्जालमा थातथलोको नाम सुकेटार परिवर्तन गर्ने प्रक्रियाको विरोधमा आन्दोलनमा उत्रन आह्वान गरेका छन् ।

 

एमाले जिल्ला सचिव दीपेन पोमूले सांकेतिक प्रतिक्रिया दिँदै ‘मुकुम्लुङ पाथीभरा हुँदा कसैको टाउको दुखेन त ? मुकुम्लुङ पहिला कि पाथीभरा पहिला ? भन्ने प्रतिक्रिया दिएका छन् । कांग्रेसका युवा नेता जंग सुनुवारले सुकेटार एयरपोर्टलाई रवीन्द्र अधिकारी विमानस्थल बनाउनुपर्छ भने सिफारिस गर्ने को हो भनेर प्रश्न गरेका छन् । 

 

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कीर्तिमान मादेनले थातथलो र ऐतिहासिक पृष्ठभूमिको नाम सुकेटारलाई नामेट गर्ने कार्य सह्य नभएको भन्दै सरकारको निर्णयको कडा प्रतिवाद गरेका छन् । अधिकांश स्थानीयले सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति आपत्ति जनाउँदै सरकार त्यो निर्णयबाट तत्काल पछि हट्नुपर्ने भनेका छन् । 

 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पर्यटन व्यवसायी आङ्छिरिङसहित ६ जनाको १५ फागुन २०७५ मा ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । सरकारले उनीहरूकै सम्मानमा दुबै विमानस्थलको नामकरण गरेको दाबी गरेको छ । तर, उनीहरूको मृत्युसँग सुकेटार विमानस्थलको कुनै सम्बन्ध नरहेको भन्दै अधिकांश स्थानीयले सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति असन्तुष्टि जनाएका छन् ।