महोत्तरी- बर्दिबास नगरपालिकाभरि बढिरहेको कोरोना संक्रमण र मृत्युदर घटाउन वडा नम्बर ३ का स्थानीयले नागरिक अभियान अगाडि बढाएका छन् ।
निषेधाज्ञालाई अवज्ञा गरी निर्धारित समयअघि पसल खोल्ने, भट्टी पसल चलाउने र अटेर गर्नेलाई कारबाही गर्न माओवादी केन्द्र महोत्तरी जिल्ला कमिटी सदस्य दानबहादुर खड्काको नेतृत्वमा अभियान अगाडि बढाइएको हो ।
सहरमा भन्दा गाउँमा कोरोना महामारीको भयावह अवस्था सिर्जना भएकाले बाहिरबाट गाउँ आउनेलाई निगरानी बढाइन टोल-टोलको नेतृत्व हुने गरी युवा परिचालन गरिएको अभियन्ता दानबहादुर खड्काले बताए ।
स्थानीय उमेश बख्रेलले सकेसम्म आफैँ संयमता अपनाउन र सरकारी मापदण्ड पालना गरेर नागरिकलाई अनुशासित बनाउन यो अभियान सुरु गरिएको बताए । अभियानकर्ताले सुरक्षा मापदण्ड अटेर गर्नेलाई प्रशासनसमक्ष कारबाहीको सिफारिस गर्नेछन् भने बिनाकाम बाहिर निस्कनेलाई निगरानी गर्नेछन् ।
हरेक विषयमा स्थानीय सरकारको मुख ताक्नुभन्दा नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ भन्ने दायित्वबोध गराउन यो अभियानले सबैलाई सन्देश दिने स्थानीयको अपेक्षा छ ।
मंगलबार बसेको सर्वदलीय बैठकले नागरिकलाई सजग गराउन प्रहरी प्रशासनको समेत सहयोग लिने निर्णय भएको स्थानीय गोपाल कार्कीले जानकारी दिए ।
वडा-वडामा स्वास्थ्यकर्मी परिचालन
कोरोना रोकथाम तथा नियन्त्रणका लागि बर्दिबास नगरपालिकाको वडा–वडामा स्वास्थ्यकर्मी परिचालित भएका छन् ।
गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले लुकाएर हिँडिरहेको जनगुनासो बढिरहेका बेला स्वास्थ्यकर्मीलाई घर-घरमै परिचालन गरी चेकजाँच गर्ने निर्णय भएको वडा नम्बर ३ का वडाध्यक्ष राजन ढुंगानाले जानकारी दिए । ‘६ वटा समूह बनाएर वडा नम्बर ३ मा स्वास्थ्यकर्मी परिचालन भएका छन्’, अध्यक्ष ढुंगानाले भने ।
स्वास्थ्यकर्मीले गाउँ-गाउँ पुगेर संक्रमितको अवस्था, सर्वसाधारणको स्वास्थ्य अवस्था र प्रत्यक्ष रूपमा ज्वरो नापेर त्यसको तथ्यांक संकलन गरी नगरपालिकालाई बुझाउनेछन् ।
नगरपालिकाले आवश्यक परे तत्काल स्वास्थ्यकर्मी खटाएर घर–घरमै पुगेर स्वाब संकलन गरिने नगरप्रमुख विदुर कार्कीले बताए ।
मंगलबार वडा नम्बर ३ को पर्साइधाप, भब्सी, गौरीडाँडा, पाटुलगायत ठाउँमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको वडाध्यक्ष ढुंगानाको भनाइ छ ।