कैलाली- अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिण्डरका लागि धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा रकम सहयोग गर्नेहरु बढ्दै गएका छन् । कोषमा निर्माण व्यवसायी संघ कैलालीले चार लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ ।
अस्पतालमा अक्सिजन नपाएर बिरामीले मृत्युवरण गर्नु परेपछि उपमहानगरको चालेको काममा कैलाली संघले रकम सहयोग गरेको अध्यक्ष यज्ञराज उपाध्यायले पालिका खबरलाई बताए ।
संघले आइतबार धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेको हो । सहयोग रकम बुझ्दै नगरप्रमुख वडले कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ति तथा सहयोगी दाता, संघसंस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरे ।
धनगढी उपमहानगरपालिकामा ३० वैशाखमा नगरप्रमुख तथा नगरस्तरीय कोभिड-१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो ।