रोल्पा- कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापनमा सरकारी तबरबाट ढिलाइ भएपछि संक्रमितको दाहसंस्कार आफन्तबाटै हुन थालेको छ । जसले गर्दा समुदायमा संक्रमण फैलिने भयले स्थानीयवासी त्रसित देखिएका छन् ।
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या रोल्पामा बढिरहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । यसरी मृत्यु भएकाहरु मध्ये अधिकांशको अन्त्यष्टी परिवारले गरेका छन् ।
नातेदार वा छिमेकीको मृत्युपछि दाहसंस्कारका लागि मलामी जानुपर्ने सामाजिक दायित्वका कारण दाहसंस्कारमा समेत जमघट हुने क्रम बढ्दै जान थालेको छ ।
कोरोना भाइरसको लक्षण देखिएपछि गत वैशाख ३१ गते रोल्पा अस्पताल भर्ना भएका रोल्पा नगरपालिका२ सदरमुकाम लिवाङका एक व्यक्तिको अक्सिजनको मात्रा नबढेपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटैमा मृत्यु भयो ।
शव अस्पताल पुर्याएर लामो समय कुर्दासमेत सरकारी तबरवाट शव व्यवस्थापन गर्नेबारे चासो नदेखाउँदा आफन्तहरुले नै शव व्यवस्थापन गर्न बाध्य भए । यस्तै कोरोना भाइसरका कारण केही दिनअघि मृत्यु भएका सुनिलस्मृति गाउँपालिका-४ का एक पुरुषको आफन्तले नै अन्त्यष्टी गरेका थिए ।
मृतकको शव परिवारका सदस्यहरुले समेत छुने गर्दा परिवारका सदस्य पनि सङ्क्रमणको उच्च जोखिममा पर्ने गरेका छन् ।