close

ओखलढुंगाका गाउँ पस्दै कोरोना: तर, विद्यालय परीक्षा सञ्चालन गर्दै स्थानीय तह 

ओखलढुंगाका गाउँ पस्दै कोरोना: तर, विद्यालय परीक्षा सञ्चालन गर्दै स्थानीय तह 

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले कोरोना कहरबीच पनि कक्षा ९ सम्मको वार्षिक परीक्षा सञ्चालनको तयारी गरेको छ । सरकारले देशभरका शिक्षण संस्थामा भौतिक उपस्थिति हुने कुनै पनि गतिविधिमा रोक लगाए पनि जिल्लाका केही स्थानीय तहले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने तयारी थालेका हुन् । 

 

ओखलढुंगामा कोरोना संक्रमण नदेखिएको, पछि थप जटिलता आउने र लकडाउन हुने अवस्था आउन सक्ने भएकाले २ चरण गरेर परीक्षा केही दिनमै सम्पन्न गर्ने तयारी भएको बताइएको छ । वार्षिक परीक्षा सञ्चालनको तयारी मोलुङ गाउँपालिका, चिशंखुगढी गाउँपालिका, चम्पादेवी गाउँपालिका र सिद्धिचरण नगरपालिकाले थालेका छन् । 

 

चिशंखुगढीमा बुधबारदेखि सुरु भएको छ भने मोलुङमा बिहीबारबाट सुरु गरिने गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए । २ चरणमा गरेर विद्यालय स्तरका सबै परीक्षा २० वैशाखभित्र सम्पन्न गरी विद्यालय बन्द हुने नेपालको भनाइ छ । 

 

त्यस्तै, सिद्धिचरण नगरपालिकाले २ चरणमा गरेर १७ देखि २१ वैशाखभित्र परीक्षा सम्पन्न गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले बताए । हाल जिल्लामा कोरोना संक्रमण नदेखिएकाले सुरक्षा विधि अपनाएर परीक्षा सम्पन्न गर्दा शैक्षिक सत्रमा असर नगर्ने हुँदा यस्तो निर्णय गरेको उनले जानकारी दिए । 

 

परीक्षा सकिएपछि नतिजा प्रकाशनमा शिक्षकले घरैबाट काम गर्न सक्ने र कक्षा स्तरोन्नति भएका विद्यार्थीले वैकल्पिक विधि अपनाएर पठनपाठन र सिक्न सक्ने भएकाले परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले बताएको छ । 


परीक्षाको तयारी गर्न सबै विद्यालयलाई जानकारी गराइसकिएको छ । केही स्थानीय तहले भने विद्यालय बन्द गरिसकेका छन् । सुनकोसी, खिजीदेम्वालगायत स्थानीय तहमा विद्यालय बन्द गरिएको छ ।

 

लिखु गाउँपालिकाको बैठक बसेर मात्रै यसबारे निचोडमा पुग्ने सूचना अधिकारी द्रोणकुमार धमलाले बताए । लिखुले २१ वैशाखबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरे पनि कोरोना संक्रमणको जोखिम बढेपछि बिहीबार बैठक बसेर निर्णय गर्दै छ । 

 

त्यस्तै, खिजीदेम्वा गाउँपालिकाले पनि बैठक बसेर पछि निर्णय लिने शिक्षा शाखाका कर्मचारी बुद्धि मुलिचाले जानकारी दिए । परीक्षा सञ्चालन जिल्लाको अवस्था हेरेर सुरक्षित तरिकाले हुने भए पनि विद्यार्थी अनुपस्थित भए त्यसबाट आउने समस्यामा को जिम्मेवार हुने भन्ने चुनौती रहेको सगरमाथा जनता माविका प्रधानाध्याक डिल्लीराम कार्की सुनाउँछन् ।

 

संघीय सरकारले काठमाडौंको परिवेश हेरेर विद्यालय बन्द गरे पनि जिल्लाको अवस्था सामान्य रहेकाले स्थानीय तह अघि बढेका र पूर्ण सुरक्षित रुपमा परीक्षा सञ्चालन गरिने मोलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हेमबहादुर सुनुवारले बताए ।