कालीकोट- देश तथा विदेशमा रहेका सहयोगी मनहरूको सुकी पैसोले निर्माण भएको कालीकोटको रास्कोट नगरपालिका गौतुकोटमा बनेको अस्पताल नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
खाडी मुलुकमा पसिना बगाउन गएकाहरूबाट संकलित ८ करोड रुपैयाँको सहयोगले निर्माण भएको रास्कोट अस्पताल नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
कालीकोटलगायतका अन्य क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने लक्ष्यका साथ सुरु गरिएको अस्पतालबाट स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।
रास्कोटका समाजसेवी तुलाराज सिम्खाडा, दयाराम सिम्खाडा, सञ्चारकर्मी रवि लामिछानेले स्थापना गरेको रवि फाउन्डेसनमार्फत संकलन भएको रकमबाट रास्कोट सामुदायिक अस्पताल भवन निर्माण गरिएको थियो ।
रास्कोटका सामाजिक अभियन्ता तुलराज सिम्खाडाले अस्पताल सुरु गर्दा चुनौती आए पनि अहिले अभियान सफल भएको बताए ।
उनले भने, ‘सुरुमा निकै चुनौती थियो । देश तथा विदेशमा आफ्नो पसिना बगाएर कमाएको पैसा संकलन गरेर दुर्गम रास्कोटमा अस्पताल निर्माण सम्पन्न गरेका छौँ ।’
२ वर्षमा १४ हजारले नागरिकले सेवा लिएको अस्पतालको तथ्यांकमा उल्लेख छ । नगरपालिकाको पुरानो भवनमा एमबीबिीएस डाक्टरसहितको सेवा सुरु गरको २ वर्षमा धेरै नागरिकको ज्यान जोगाएको उनले दाबी गरे ।
कार्यक्रममा लामिछानेले अस्पताल उद्घाटनसँगै नगरपालिकालाई हस्तान्तरण गरे । विकट कालीकोटमा १५ शय्याको अस्पताल निर्माण भएपछि स्थानीयलाई स्वास्थ्योपचारमा सहज हुनेछ ।