महोत्तरी– महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन किसानले नापी भएको ४ वर्ष र बसोबास गरेको ७० वर्षपछि लालपुर्जा पाएका छन् ।
नगरपालिकाको वडा नम्बर ७ का किसानले ४ वर्षअघि नापी भएको ब्लक जग्गाको लालपुर्जा प्राप्त गरेका हुन् ।
नापी भएको लामो समयसम्म धनीपुर्जा रोकिरहेको गुनासो आइरहेका बेला किसाननगर, पशुपतिनगरका करिब ३ सय २५ घरधुरीले धनीपुर्जा पाएका छन् ।
‘हामी ७० वर्षपछि भूमिपति भएका छौँ । यसबेला निकै खुसी छौँ’, किसान नगरका किसान रामप्रमोदले भने । लामो प्रयासपछि वडाबासीलाई भूमिपति बनाउन पाउँदा निकै खुसी लागेको जनप्रतिनिधि बताउँछन् ।
‘सम्बन्धित निकायलाई निरन्तर झकझकाउने क्रममा ३ सय २५ घरधुरीलाई धनीपुर्जा वितरण गर्न पाएका छौँ’, वडा नम्बर ७ का वडाध्यक्ष फाल्गुन सुस्लिङ मगरले भने ।
धनीपुर्जा पाएको ६ महिनापछि जग्गाधनीले बैंकिङ कारोबारसमेत गर्न पाउने अध्यक्ष मगरको भनाइ छ ।
नगरपालिकाभित्रका अन्य वडामा समेत भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको नापीको काम भइरहेको छ । पहिलो चरणमा लगत संकलन सकिएपछि धमाधम नापी भइरहेको अध्यक्ष मगरले जानकारी दिए ।