सुर्खेत– दिउँसोको उखरमाउलो गर्मीसँगै प्रत्येक दिन कालीकोटकी अस्मिता कार्कीको दैनिकी सुरु हुन्छ ।
उमेरले ३५ वर्ष पुगेकी अस्मिता पिठ्युँमा ठूलो डोको बोकेर सुर्खेतको पिपिरादेखि बांगेसिमलसम्म हिँडेरै पुग्छिन् । फलफूल सिजनमा फलफूल र अन्य बेला वस्तु पिठ्युँमै बोकेर विभिन्न चौर र घरदैलो चहार्छिन् ।
२ वर्षदेखि डोकोमा सुन्तला बेच्दै आएकी कार्कीले यसको आम्दानीले २ छोराछोरीलाई पढाउँदै आएकी छन् । ‘दिनभरि सुर्खेत भ्यालीभरि घुम्छौँ र साँझ घर फर्किने बेला आफूलाई चाहिने सामग्री किन्छौँ’, कार्की सुनाउँछिन् ।
फुटपाथमै बसेर भए पनि मिहिनेत गरी जीवन चलाउँदा पनि नगरपालिका लखेट्ने एकै ठाउँ बसेर बेच्न नदिएको उनको गुनासो छ । पहिले सडक तथा विभिन्न विकास निर्माणका काममा मजदुरी गर्दै आए पनि घरपरिवार चलाउन र जीवन धान्न हम्मे भएपछि डोके व्यापार रोजेको उनले बताइन् ।
कार्की एउटा प्रतिनिधि पात्र मात्र हुन् । डोके व्यापार गरेर जीविका चलाउने सयाँै जनाले अहिले फुटपाथ र खुला चौरलाई आप्mनो आम्दानीको स्रोत बनाउँदै आएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत भएसँगै गाउँबाट सहर झर्नेको संख्या बढेपछि वीरेन्द्रनगरमा डोको बाकेरै फलफूल बेचेर जीविका चलाउनेको संख्या दिनहुँ बढ्दो छ ।
दैलेखको ठाटीकाँध गाउँपालिकाकी ४५ वर्षीय रमा विकले पनि वीरेन्द्रनगरमा डोकोमा सुन्तला बेच्न थालेको ५ वर्ष भयो । २०६८ मा भारतमा मजदुरी गर्न गएका श्रीमान्को सडकमा काम गर्दागर्दै माथिबाट आएको ढुंगाले ज्यान लियो । त्यसपछि रमाका दुःखका दिन सुरु भए ।
रमा भन्छिन्, ‘श्रीमान्को मृत्युपछि घरमा बसौँ खाने गास थिएन । कहाँ जाऊँ के गरौँ भनेर भौतारिँदा पटक–पटक आत्महत्याको कोसिस पनि गरेँ । तर, ४ वटा छोराछोरीको अनुहार देखेपछि मर्न सकिनँ ।’
आफू मरेर छोराछोरीलाई दुःख दिनुभन्दा बरु दिनरात मिहिनेत गरेर छोराछोरी हुर्काउँछु भन्ने साहस पलाएपछि डोके व्यापार रोजेको उनले बताइन् ।
रमाका २ छोरा र २ छोरी छन् । एउटा छोरा र अर्की छोरीले गाउँमै हुँदा बिहे गरेका हुन् भने अहिले २ छोराछोरीको शिक्षादीक्षाकै लागि दिनरात डोको बोक्दै वीरेन्द्रनगरका चोक–चोक र गल्लीगल्ली धाउँछिन् ।
यस्तै पीडा सहेर जाजरकोटबाट सुर्खेत झरेकी ३० वर्षीया कल्पना घर्तीका पनि दुःखका पहाड छन् । उनका श्रीमान्को मृत्यु भएको ३ वर्ष बित्यो । श्रीमान्काे मृत्युपछि घरपरिवारबाट अपहेलित कल्पनाले अहिले सुर्खेतमा आएर सुन्तला, सागसब्जी बेच्न थालेको २ वर्ष भयो ।
‘हामीजस्ता वेदना भएकालाई कसैले हेर्दैन । सरकारी राहत पनि टाठाबाठाले नै खान्छन्’, उनले भनिन्, ‘पहिले मंगलगढी चोक छेउमै बसेर फलफूल बेच्दा सजिलोे थियो । नगरपालिकाले हटाएपछि अहिले विभिन्न ठाउँ चाहर्नु परिरहेको छ ।’