समाज
काठमाडौं– काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाइदिन पुरातत्त्व विभागलाई आग्रह गरेको छ । महानगरले विश्वसम्पदा क्षेत्रमा अनधिकृत व्यापार भइरहेको भन्दै ७ दिनभित्र हटाएर जानकारी दिन विभागलाई आग्रह गरेको हो ।
वसन्तपुरको वारुणयन्त्र कार्यालयबाट उत्तरतर्फको भवन र तलेजु भवानी मन्दिर नजिकैको भवनका अनधिकृत व्यापार हटाएर ७ दिनभित्र जानकारी गराउन महानगरले विभागलाई पत्रमार्फत भनेको छ । ‘वसन्तपुरसहित काठमाडौंका विश्व सम्पदा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्व जोगाउनु विभागको पनि दायित्व हो’, पत्रमा भनिएको छ ।
वसन्तपुर क्षेत्रमा विभागले हेर्नुपर्ने स्थान भोगचलन गरी भवनमा पुरातात्त्विक महत्त्वविपरीत व्यापारिक प्रयोजनमा ल्याइएको जनगुनासो आएपछि महानगरले विभागलाई पत्र पठाएको हो । पत्रमा भनिएको छ, ‘तोकिएको समयमा विभागले पसल हटाउने कार्य नगरे महानगरले नै हटाउनेछ ।’
स्थानीय सरकार सञ्चालन ऐन, २०७४, महानगरको भवन निर्माण मापदण्ड, २०७५ र प्राचीन स्मारक ऐन, २०१३ समेतको कानुनी व्यवस्थाबमोजिम वसन्तपुर क्षेत्रका प्राचीन स्थल संरक्षण, मर्मत र जीर्णोद्धारका साथै उक्त क्षेत्रमा सञ्चालित अनधिकृत व्यापार–व्यवसाय हटाउनु कार्यालयको प्राथमिक योजनाभित्र पर्ने महानगरको भनाइ छ ।
१४ फागुनमा महानगरको सम्पदा तथा पर्यटन विभागले पत्र पठाएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदाको पुनर्निर्माण कार्यले पनि तीव्रता पाएको छ ।
अहिलेसम्म यस क्षेत्रका २७ सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको छ । ०७२ को भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
यहाँ विश्व सम्पदा क्षेत्रमा सूचीकृत रहेका ७० सम्पदा छन्, जसमध्ये १२ वटामा भूकम्पले क्षति पु¥याएको थिएन । अड्डाका कार्यालय प्रमुख सन्दीप खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम चलिरहेकाले निर्माण सम्पन्न गरेपछि मात्रै २० वटा सम्पदाको काम सुरु हुनेछ ।
हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । दरबारको ६० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको हो ।
नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । यसअघि गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ ।