दार्चुला– दार्चुलामा मात्रै बसोबास रहेको व्यासी सौका समुदायले नयाँ वर्ष आरम्भ भएको खुसीयालीमा गवला पर्व मनाएका छन् । व्यास गाउँपालिकाको वडा नम्बर १ छांगरुका स्थानीयले गवला पर्वलाई मुख्य चाडको रूपमा मनाउने गर्छन् ।
नेपाली समुदायमा दसैँ–तिहारजस्तै व्यासीबासीले गवला पर्वलाई मुख्य चाडपर्वको रूपमा मनाउने गर्छन् । गत मंसिरमा व्यासी सौका समुदाय खलंगा बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरूले गवला पर्व मनाउने चलन छ ।
बसाइँसराइ गरेको अवधिभर ५ पटक यो पर्व मनाउने गरिएकामा सोमबार मनाइएको गवला सौका समुदायको मुख्य पर्व रहेको व्यासी सौका समाजका पूर्वअध्यक्ष एवं छांगरुका स्थानीय ललितसिंह बोहराले बताए ।
गवला भनेको नयाँ वर्ष हो । नयाँ वर्ष सुरु पहिले नै भइसके पनि छांगरुबासीले अहिले खुसीयाली मनाउँछन् । यो पर्वमा टाढा–टाढा गएका व्यक्तिहरू गवला मनाउन घर फर्किन्छन् । यो पर्वमा आफन्त इष्टमित्रसँग भेटघाट गर्ने तथा सुखदुःख बाँड्ने चलनको रूपमा रहेको छ ।
यो पर्वमा विभिन्न परिकारका खानेकुरा पकाउने र समुदायका सबैलाई दिने चलन रहेको स्थानीय कञ्चन ह्याकी बताउँछिन् । उनले भनिन्, ‘सबैले सबैको घरमा बोलाएर आफ्नो कुलदेवता पुजेर प्रसाद ग्रहण गर्ने गरिन्छ ।’
गवलाको बेला सौका समुदायले जौ, उवाबाट बनेको सातुबाट दलाङ (मूर्ति) बनाउने गर्छन् । यसलाई उनीहरूले जौबाट बनेको रक्सीले पूजा गर्ने चलन छ । पुरानो अनाज जम्मा गरेर परिकार बनाइन्छ । घर–घरमा रमाइलो गर्ने चलन छ ।
‘गवला पुरानो देवता भएको कारण कान कम सुन्ने किंवदन्ती छ’, बोहरा भन्छन्, ‘सोही किंवदन्तीअनुसार गवला पर्वमा व्यासीबासीले थाल–झ्याली बजाउने गर्छन् । शान्ति कायम होस्, भगवान्ले सबैको रक्षा गरुन् भन्ने उद्देश्यले पूजापाठ गरी देवतालाई खुसी बनाउने गरिन्छ ।’
व्यासीबासी बसाइँ सरी पुनः वैशाखमा छांगरु, टिंकर उक्लिँदा पनि गवला मनाउने गर्छन् । यो पर्वमा युवाहरूले देउसीभैलो खेलेर पर्व मनाउने व्यासका स्थानीय विमल बोहरा बताउँछन् । आफ्नै समुदायको घरघरमा गएर युवा पिँढीले भैलो माग्ने गर्छन् ।
परम्परागत रूपमा मनाइँदै आएको गवला पर्व देउताका नामले पूजापाठ तथा देउसीभैलो खेलेर मनाउने चलन छ । अन्य समुदायले तिहारका बेला खेल्ने देउसीभैलो सौका समुदायले गवला पर्वका अवसरमा खेल्ने गर्छन् ।
विशेषगरी व्यास गाउँपालिका वडा नम्बर १ छांगरु र टिंकरका स्थानीयले फरक–फरक समय गवला पर्व मनाउने गर्छन् । दुवैका देवता समान र पूजापाठ गर्ने चलन एउटै भए पनि मनाउने समय मात्रै फरक भएको बोहराले बताए ।
यो पर्व मनाएपछि मात्रै विवाहलगायतका शुभ कार्यको थालनी गर्ने परम्परा रहेको व्यासीबासी बताउँछन् । यो पर्व अवसरमा पूजापाठ गरेर आफ्ना इष्टमित्रसँग जमघट भई मीठामीठा परिकार खाएर मनाइन्छ भने विवाहित छोरी–चेली माइत जाने चलन छ ।
दार्चुलाका व्यासीबासीको भिन्न संस्कृति पनि छ । संस्कृतिका धनी मानिने व्यासी सौकाहरू आ–आफ्नो संस्कृति संरक्षणका लागि एकजुट हुने गर्छन् । उनीहरूले बाजागासहित भैलो माग्ने चलन छ ।