मोरङ– मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ तिल्केनीका स्थानीयलाई राती सुत्दा भोलि बिहान धारामा पानी आउने/नआउने चिन्ताले सताउने गरेको लामो समय बितिसकेको छ ।
मिक्लाजुङका करिब ६ सय परिवार आज पानी खान पाइयो, भोलि पाइन्छ/पाइँदैन भन्ने चिन्तामा हुने गर्छन् । प्रत्येक घरले पानी थाप्दाथाप्दै धारो बन्द भए भोलिपल्ट अघिल्लो दिन थाप्नेले पनि पानी पाउँदैनन् ।
अघिल्लो दिन पानी भर्नेले भोलिपल्ट खोलामा गएर पानी ल्याउनुपर्ने बाध्यता रहेको गृहिणी निर्मला बास्तोलाले बताइन् । ‘दैनिक १–२ दुई गाग्रो पानी लगेर त्यसैले बालबालिकाको कपडा धुनेदेखि अन्य घरायसी काममा समेत प्रयोग गर्नुपर्ने बाध्यता छ’, उनले भनिन् ।
भएकै धारामा दैनिक पानी नचुहिएपछि स्थानीयले खोलाबाटै पानी ल्याएर जीविका चलाइरहेका छन् । सफारीमा ५० रुपैयाँ गाग्रीले खोलाको पानी ल्याएरसमेत खानुपरेको स्थानीय निमलक्की खड्काले बताइन् । १ परिवारलाई दैनिक १०–१५ गाग्री चाहिन्छ । तर, उनीहरूले १–२ गाग्रीभन्दा बढी पाउन सकेका छैनन् ।
कमाएर घरमा पैसा ल्याउने युवाहरू वैदेशिक रोजगारीमै छन् । कारण एउटै हो, गाउँघरमा अन्नबाली उब्जने खेतबारी सिँचाइका कारण बाँझै भएपछि युवाहरूका लागि बिदेसिनु बाध्यता हो ।
विद्यार्थीहरू पनि बिहान ६ बज्नु अगाडि नै पानी थाप्न लाइनमा बस्ने गरेका छन् । लाइनमा बसेर पानी भर्नुपर्दा विद्यालय नै जान नपाइने गरेको उनीहरूको सामूहिक गुनासो छ । ‘अधिकांश समय पानी लिन आउँदा विद्यालय जाने समय धारामै बित्ने गरेको छ’, विद्यार्थी पूजा साम्बाले भनिन् ।
पहाडी बस्ती रहेको यो क्षेत्रमा पानीको यति धेरै हाहाकार छ, समस्या बुझेकाहरूले छोरी दिनै मान्दैनन् । पानीको समस्याकै कारण तिल्के वासिन्दालाई बुहारी भित्र्याउनै समस्या छ । पानी अभावकै कारण बसाइँ सर्नेको लर्कोसमेत लाग्ने गरेको छ । वृद्धहरू पनि उज्यालो भुइँमा खस्न नपाउँदै लाइनमा बस्नु परेको सुनाउँछन् ।
एक वृद्धा नाम नबताउने सर्तमा भन्छिन्, ‘ केही वर्षअगाडि धारा जडान गर्न आएका प्राविधिकलाई भाले नखुवाएको भए अहिलेसम्म धारासमेत देख्न पाइँदैन थियो ।’
तिल्केनीमा पानी अभावकै कारण व्यावसायिक रूपमा पशुपालनसमेत गरिँदैन । चुनावमा पानीको योजना पार्ने आश्वासन दिएका जनप्रतिनिधिहरूले भने आफुले गरेको वाचा पु¥याउन सकेका छैनन् । खानेपानी समस्या समाधान गर्न थप ट्यांकी थपिएकाले चाँडै समस्या समाधान हुने मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मणि राईले बताए ।
ट्यांकी सञ्चालनमा आएपछि केही सहज हुने उनको भनाइ छ । खानेपानीको समस्या समाधान गर्न ठूलो बजेट आवश्यक रहेकाले प्रदेश तथा संघीय सरकारसँग माग गरिएको राईले जानकारी दिए । प्रदेश १ कै राजधानी रहेको जिल्लामा खानेपानीको अवस्था भयावह हुँदा पनि कसैले नहेरेको स्थानीयको गुनासो छ ।