मोरङ- भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न मोरङका स्थानीय तहले तथ्यांक संकलनलाई अगाडि बढाएका छन् ।
पहिलो चरणमा मोरङका ७ वटा पालिकामा लालपुर्जा वितरण गर्ने गरी आयोगले गत २२ मंसिरमा स्थानीय तहसँग सम्झौता गरेको थियो ।
मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी, लेटाङ, कानेपोरी र मिक्लाजुङमा यो कार्यक्रम लागू भएको हो ।
उर्लाबारीमा नगरपालिकामा ५ हजार ४४, पथरीशनिश्चरेमा ९ हजार ५ सय, बेलबारीमा ६ हजार ६१, रंगेलीमा ११ हजार ९ सय २३, लेटाङमा ४ हजार ४ सय ४५, कानेपोखरी गाउँपालिकामा ४ हजार १ सय ७४ र मिक्लाजुङमा ३ हजार ६ सय ४२ सुकुम्बासी रहेको आयोगको तथ्यांक छ ।
स्थानीय तहमा तथ्याक संकलन इकाइ कार्यालय खोल्नेदेखि गणक खटाउने काम स्थानीय तहले गरिरहेका छन् । वर्षौंदेखि लालपुर्जाविहीन बनेका नागरिकलाई पुर्जा वितरणका लागि काम गरिरहेको बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
टोल-टोलमा गएर कर्मचारीले तथ्यांक संकलन गरिरहेको पथरीशनिश्चरे नगरप्रमुख दिलीपकुमार राईले जानकारी दिए । स्थानीय तहको सक्रियता देखाएकै कारण काम गर्न सहज भएको आयोगका पदाधिकारीको भनाइ छ ।
सुकुम्बासी समस्या समाधानका लागि पटक-पटक आयोग बने पनि प्रभावकारी काम हुन सकेको थिएन । अब भने सधैँका लागि समाधान हुन्छ’, सुकुम्बासी समस्या समाधान आयोग प्रदेश १ का संयोजक गोपाल गुरागाईंले भने ।
१४ फागुनभित्र तथ्याक संकलन गरिसक्ने गरी आयोगले सूचना जारी गरिसकेको छ ।