कालिकोट- कालिकोटमा सरकारी गाडीको चरम दुरुपयोग हुँदै आएको छ । सडक नै नभएको ठाउँमा गाउँपालिकाले आफ्नो लागी महंगा गाडी खरिद गरी सरकारी सम्पत्तिको चरम दुरुपयोग गरेका छन् ।
आइतवार जिल्लाको शुभकालीका गाउँपालिकाको कर्णाली प्रदेश ०१-००१-००९१ नम्बरको गाडीमा नेकपा माधव-प्रचण्ड खेमाका नेता कार्यकर्ता ओसारपसार गरिएको छ ।
सडक नै नपुगेको गाउँपालिकामा महंगो गाडी खरिद गरी पटकपटक राजनीतिक दलको कार्यक्रममा प्रयोग भइरहेको प्रति समाजिक सञ्जालमा स्थानीयले चर्को विरोध गरिरहेका छन् ।
केही समय पहिले माधव-प्रचण्ड खेमाले सुर्खेतमा आयोजना गरेको भेलामा पनि गाउँपालिका अध्यक्ष खडानन्द्र चौलागाई सहितको नेकपा नेता यही सरकारी गाडीमा जुलुस लगाउँदै पुगेका थिए ।
महावै गाउँपालिकाको गाडी नेकपाको ओली खेमाले आयोजना गरेको आमसभामा काठमाडौं पुगेर फर्किएको छ । गाउँपालिका उपाध्यक्ष मनराज शाहीले पार्टीको कार्यक्रमा सरकारी गाडी प्रयोग गरेको भन्दै आलोचना गरेका थिए ।
जिल्लाका ९ वटा स्थानीय तहमध्ये ६ स्थानीय तहले गाडी खरिद गरेका छन् । सडक पुगेपनीि पचालझरना गाउँपालिका, शान्नि त्रिवेणी गाउँपालिका र पलाँता गाउँपालिकाले भने गाडी किनेका छैनन् । उनी अहिलेसम्म मोटरसाइकलै यात्रा गरिरहेका छन् ।
सरकारी गाडीको पटक पटक चरम दुरुपयोग भइरहेको पाइएपछि यहाँका स्थानीयले चर्को विरोध गरेका छन् । सडकनै नपुगेको ठाउँमा जनप्रतिनिधिहरुले महंगा गाडी खरिद गरी राज्यको सम्पत्ति दोहन गरेको भन्दै आलोचना भइरहेको छ ।
‘नागरिकहरुले अझै पिठिउँमा भारी वोक्नु पर्ने जनप्रतिनिधि भने जन्ताका खुन र पसिनाले तिरेको करले महंगा गाडीमा सयर हुने ? यो कस्तो व्यवस्था हो,’ स्थानीय डिल्ली चौलागाईँको आक्रोस छ ।