कालीकोट- कालीकोटको नरहरिनाथ गाउँपालिकाका बाढीपीडितले ६ महिना बित्दा पनि सुरक्षित बास पाउन सकेका छैनन् । गत १३ साउनको बर्खे पानीले गाउँमा पहिरो गएपछि २ सय ६ घरधुरी घरबारविहीन भएका थिए ।
पहिरो गएको ६ महिना बितिसक्दासमेत सुरक्षित बास नभएपछि पीडितहरू विकल्पमा नजिकैको सुगुँर खालस्थित एक सामुदायिक जंगलमा हिँउदको कठ्यांग्रिँदो चिसोमा त्रिपालमा बस्न बाध्य हुन् ।
१३ साउन राती गएको पहिरोले गाउँपालिकाको वडा नम्बर ४ र ७ का २ सय ६ घर क्षतिग्रस्त भएपछि गाउँपालिकाले पीडितको व्यवस्थापनका लागि सामुदायिक वनमा अस्थायी टहरा बनाएर बसालेको थियो ।
माघको कठ्यांग्रिँदो चिसोमा त्रिपाल अनि खरको छानामा बस्नुपर्दा बालबालिका र वृद्धवृद्धालाई निकै असहज भएको बाढीपीडित रतन बुढाको गुनासो छ ।
उनले भने, हामीहरूको छिट्टै व्यवस्थापन गरिदिए बाँच्न सकिन्थ्यो कि ? ६ महिना बितिसक्यो तर कसैले सहयोग गरेनन् ।’ हिउँद महिनामा बालबालिका र वृद्धवृद्धालाई बचाउन कठिन परेको उनको भनाइ छ । उनले भने, ‘केही त्रिपालमा छन्, केही खरको छानामा बस्न बाध्य छौँ । गाउँपालिकाले अस्थायी टहरा बनाएर बसालेको छ । प्रदेश सरकारले घर बनाइदिने भने पनि अहिलेसम्म केही गरेन ।’
बुढाको मात्र यस्तो गुनासो छैन । जंगलको कठ्यांग्रिँदो चिसोमा बसिरहेका बाढीपीडित धनबहादुर सहकारीको पनि वेदना उस्तै छ । उनले भने, ‘प्रदेश सरकारले दिने भनेको १ लाख रुपैयाँ राहत पनि अहिलेसम्म पाएका छैनौँ । ३ महिना भयो चेक दिएको । अझै खातामा पैसा हालेको छैन तर हाल्छौँ भनिरहन्छ ।’
पीडितलाई खाली चेक दिएर झुक्याइएको उनको गुनासो छ । जंगलमा त्रिपाल हालेर चिसोमा बस्न बाध्य भए पनि स्थानीय र प्रदेश सरकारले आफूहरूको समस्यामा ध्यान नदिएको धनबहादुरले आरोप लगाए ।
गाउँपालिका भन्छ : बाढीपीडितका लागि जग्गा छुट्याइसक्यौँ
पालिकाका २ सय ६ घरधुरी बाढीपीडितका लागि जग्गा छुट्याइसकेको गाउँपालिकाले जनाएको छ । जिल्ला वन कार्यालयसँग सहयोग मागेर २ सय ६ बाढीपीडितका लागि सोही वडामा रहेको सार्वजनिक ८३ हजार ५ सय २० वर्ग मटर जग्गा अमिनको टोलीले नापिसकेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए ।